वीरगञ्जको मेयरमा जेनजी अगुवालाई उम्मेदवार बनाउन सुधीर पटेलको माग

50

वीरगञ्ज, २४ असोज।

वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ३०, ३१ र ३२ का नागरिक अगुवा समाजको आयोजनामा दशैँ, नेपाल संवत्, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

वडा नम्बर ३१ स्थित सोलखपुर फिल्डमा आयोजित कार्यक्रम युवा समाजसेवी तथा पूर्ववडाध्यक्ष चुमन दास चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा वीरगञ्ज महानगरपालिकाको मेयर पदका प्रत्याशी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि सुधीर पटेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै पटेलले उपस्थित सबैलाई चाडपर्वको शुभकामना व्यक्त गर्दै आगामी स्थानीय तहको निर्वाचनमा आफूलाई सहयोग गर्न आग्रह गरे।

रास्वपामा अन्य पार्टीबाट आएका नेताहरूलाई प्रवेश गराइएको विषयप्रति असन्तुष्टि जनाउँदै पटेलले आगामी निर्वाचनमा अन्य पार्टीका नेतालाई वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवार बनाइए आफू चुप लागेर नबस्ने चेतावनी दिए। यस्तो निर्णय भए जनस्तरबाट समेत विरोध हुन सक्ने उनको भनाइ थियो।

परिवर्तनको पक्षमा भएको जेनजी आन्दोलनको भावना अनुसार आन्दोलनका अगुवालाई नै वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवार बनाउनुपर्ने माग समेत पटेलले राखे। जेनजी आन्दोलनका अगुवासमेत रहेका उनले रास्वपा नेतृत्वसमक्ष यस्तो माग गरेका हुन्।

उनले प्रधानमन्त्री बालेन र पार्टी सभापति रवि लामिछानेको काम तथा कर्तव्यप्रति आफू पूर्ण विश्वस्त रहेको पनि बताए।

कार्यक्रममा जेनजी पर्साका प्रमुख सल्लाहकार वीरेन्द्र कण्ठसहित विभिन्न वडाबाट आएका घनश्याम चौधरी, गणेश चौधरी, केदार पटेल, रामदरस पण्डित, जयराम महतो, अब्दुल सयद अन्सारी, अजय पटेल, गम्भीरा शाह कलवार र प्रमिला चौधरी लगायतले चाडपर्वको शुभकामना व्यक्त गरेका थिए। उनीहरूले आगामी स्थानीय तहको निर्वाचनमा सुधीर पटेललाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए।

Leave A Reply

Your email address will not be published.