भ्रष्टाचार मुद्दामा वीरगन्जका मेयर राजेशमान सिंह सहित सबै प्रतिवादीलाई सफाइ
वीरगन्ज २९ ।
विशेष अदालतले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार सिंह सहित मुद्दाका सबै प्रतिवादीलाई सफाइ दिने फैसला गरेको हो।
झुट्टा कागजात पेस गरी अर्कैकी छोरीलाई आफ्नो छोरी भन्दै नागरिकता दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते मेयर सिंह सहित सात जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियारले सिंहकी छोरी बनेर नागरिकता लिएको आरोपमा सिन्धुपाल्चोककी रिता भट्टराईलाई पनि प्रतिवादी बनाएको थियो। यस्तै, वीरगन्ज महानगरपालिका–३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडाध्यक्ष तुफैल अख्तर ठकुराई तथा गृह मन्त्रालयको छानबिन समितिका संयोजक तत्कालीन उपसचिव पुष्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल विरुद्ध समेत मुद्दा दायर गरिएको थियो।
विशेष अदालतले सोमबार सिंह सहित सबै प्रतिवादीलाई आरोपबाट सफाइ दिएको हो। अदालतको फैसलासँगै भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा रहेका मेयर सिंह पुनः पदमा फर्किएका छन्।
सफाइ पाएपछि मेयर सिंहले सामाजिक सञ्जाल मार्फत आफूले न्याय पाएको प्रतिक्रिया दिएका छन्। उनले ‘देर है, पर अंधेर नहीं’ अर्थात् ‘ढिलो हुन्छ, तर अन्याय हुँदैन’ भन्ने भनाइ उल्लेख गर्दै अदालतको फैसलाले सत्य प्रतिको आफ्नो विश्वास अझ बलियो बनाएको बताएका छन्।
निलम्बनमा परेपछि आफू र आफ्नो परिवारले कठिन तथा पीडादायी समय धैर्य, आत्मविश्वास र सत्यप्रतिको विश्वासका साथ बिताएको सिंहले उल्लेख गरेका छन्। अदालतबाट प्राप्त न्यायले ‘सत्य कहिल्यै हार्दैन’ भन्ने विश्वास थप बलियो बनाएको उनको भनाइ छ।
कठिन परिस्थितिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने आफन्त, साथीभाइ, शुभचिन्तक तथा न्यायप्रेमी सबैप्रति उनले धन्यवाद व्यक्त गरेका छन्।
सिंहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सत्यको बाटो कठिन हुन सक्छ, तर अन्ततः सत्यकै विजय हुन्छ। ढिलो भयो, तर न्याय भयो।’