तेरापन्थ युवक परिषद्को सहकार्यमा प्राइम कमर्सियल बैंकको रक्तदान, ७५ जनाले दिए रगत

38

वीरगञ्ज, ७ असोज आनन्द पटेल ।

प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ४ महिला सहित ७५ जनाले रक्तदान गरेका छन्।

रक्तदान कार्यक्रममा तेरापन्थ युवक परिषद् वीरगञ्जले सहकार्य तथा सहयोग गरेको थियो। परिषद्ले विगतदेखि नै विभिन्न संघसंस्थासँग सहकार्य गर्दै नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। रक्त अभावका कारण बिरामी तथा उपचाररत व्यक्तिले समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले परिषद्ले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संस्था, व्यवसायिक प्रतिष्ठान तथा समुदायसँग मिलेर रक्तदान अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ।

कार्यक्रममा रिता साह, बुद्धिराज बराल, शालु सिंह, ऋषि राम भट्टराई, रणजीत आर्याल, दिलीप कुमार शाह, राजु कलवार, मनमोहन शर्मा, नितेश कुमार, विपिन आचार्य, अजय श्रेष्ठ, सन्दीप सर्राफ, दीपक सहानी, राहुल यादव, अंकित उप्रेती, रामबाबु प्रसाद कुर्मी, चन्दन कुमार पण्डितलगायतले रक्तदान गरेका थिए।

कार्यक्रममा  तेरापन्थ युवक परिषद् वीरगञ्जका अध्यक्ष सुनिल दुगड , नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका सह–कोषाध्यक्ष अभिलाष गुप्ता, लालबाबु सिंह, समाजसेवी राजेन्द्र भट्टराई, लगायत बैंकका कर्मचारीहरूको उपस्थिति थियो।

रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेको नेतृत्वमा आएको टोलीले रक्त सङ्कलन तथा आवश्यक स्वास्थ्यसम्बन्धी प्राविधिक व्यवस्थापनमा सहयोग गरेको थियो।

रक्तदान कार्यक्रममा बैंकका प्रादेशिक प्रमुख बुद्धिराज बराल र वीरगञ्ज शाखा प्रमुख ऋषि राम भट्टराईको विशेष उपस्थिति रहेको थियो।

वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममार्फत संकलित रगतले वीरगञ्ज तथा आसपासका क्षेत्रमा उपचाररत बिरामीलाई आवश्यक परेको समयमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ। सामाजिक सेवाको अभियानलाई निरन्तरता दिँदै तेरापन्थ युवक परिषद्ले आगामी दिनमा पनि विभिन्न संघसंस्थासँगको सहकार्यमा रक्तदानलगायतका सामाजिक गतिविधिलाई प्राथमिकता दिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.