वीरगन्जमा स्कुल्स कप क्रिकेटको तयारी तीव्र, १६ विद्यालयका क्याप्टेन सहभागी

12

वीरगन्ज । विद्यालयस्तरमा क्रिकेटको विकास, विद्यार्थी प्रतिभाको पहिचान तथा भविष्यका खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको बिरगन्ज स्कुल्स कप २०८३ अन्तर्गतको क्याप्टेन मिट कार्यक्रम सम्पन्न भएको छ।

प्रतियोगितामा सहभागी १६ वटा विद्यालयका प्रिन्सिपल, कोच तथा टिम क्याप्टेनसँगै पर्सा जिल्ला क्रिकेट संघका आधिकारिक अम्पायरहरूको सहभागितामा क्याप्टेन मिट सम्पन्न भएको हो।

कार्यक्रममा आयोजकका तर्फबाट लालबहादुर गुरुङले स्वागत मन्तव्य राख्दै प्रतियोगिताको उद्देश्य, महत्त्व, सञ्चालन प्रक्रिया तथा खेल तालिकाबारे जानकारी गराउनुभएको थियो।

अम्पायरहरू सतीश सिंह राजपूत, फिरोज अन्सारी र फारुक अन्सारीले प्रतियोगिताको लिग कम नकआउट फर्म्याट, खेलका नियम तथा विनियम, सम्भावित समस्या र समाधानका विषयमा जानकारी गराउनुभएको थियो। सहभागी क्याप्टेन तथा कोचहरूले राखेका जिज्ञासाको समेत सम्बोधन गरिएको थियो।

क्याप्टेन मिटमा पर्सा जिल्ला क्रिकेट संघका आधिकारिक अम्पायरहरू सतीश सिंह राजपूत, निरज झा, फिरोज अन्सारी, मैनुद्दिन अन्सारी, अमन आलम र फारुक अन्सारी सहभागी थिए।

कार्यक्रमको सञ्चालन न्यू वेभ माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र आयान अन्सारीले गरेका थिए। कार्यक्रमको व्यवस्थापनमा विद्यालयका विद्यार्थीहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए।

अन्त्यमा आयोजक विद्यालय न्यू वेभ माविका प्रधानाध्यापक सुभास प्रधानले सहभागी विद्यालयका प्रतिनिधि, अम्पायर, कोच, क्याप्टेन तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य

आगामी कार्तिक ९ गतेदेखि नारायणी क्रिकेट ग्राउन्ड (टी.बी. शाह क्रिकेट ग्राउन्ड) मा सञ्चालन हुने प्रतियोगिताले क्रिकेटमा रुचि राख्ने तथा निरन्तर अभ्यास गरिरहेका विद्यार्थीलाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।

वीरगन्ज तथा पर्सा क्षेत्रका प्रतिभाशाली खेलाडी पहिचान गरी उनीहरूलाई आवश्यक अवसर र प्रोत्साहन प्रदान गर्दै भविष्यमा राष्ट्रिय टोलीमा स्थान बनाउन सक्ने तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्न सक्ने खेलाडी उत्पादन गर्नु प्रतियोगिताको दीर्घकालीन उद्देश्य रहेको आयोजकले जनाएको छ।

प्रतियोगिताले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, टिमवर्क तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आयोजकले प्रतियोगितालाई निष्पक्ष, अनुशासित र व्यवस्थित रूपमा सम्पन्न गर्न सहभागी विद्यालय, पर्सा जिल्ला क्रिकेट संघका अम्पायर, कोच, क्याप्टेन तथा विद्यार्थीबाट निरन्तर सहयोग र सहकार्यको अपेक्षा गरेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.