एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, दोस्रो पटक एसिया कपमा छनोट
काठमाडौं ।
यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको च्याम्पियन बनेको छ। उपाधिसँगै नेपाल अर्को वर्ष बंगलादेशमा हुने एसिया कपका लागि पनि छनोट भएको छ।
शनिबार मलेसियाको बायोमास ओभलमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो।
यूएईका राहुल चोपराले अविजित १०० रन बनाए। उनले १०५ बलमा चार छक्का र तीन चौका प्रहार गरे। सोहेब खानले ५२, तनिश सुरीले ४२, कप्तान हरप्रीतसिंह भाटियाले ३३ र खुजैमा तनवीरले १५ रन बनाए। छैटौँ विकेटका लागि राहुल र सोहेबले ८७ रनको साझेदारी गरेका थिए।

नेपालका करण केसीले तीन तथा ललितनारायण राजवंशीले दुई विकेट लिए। दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, गुल्सनकुमार झा, बसिर अहमद र कप्तान सन्दीप लामिछानेले एक–एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको थियो। नेपालका आसिफ शेखले शतक प्रहार गर्दै सर्वाधिक १०२ रन बनाए। उनले १०६ बलमा आठ चौका र चार छक्का प्रहार गरे।
गुल्सनकुमार झाले ३८ बलमा चार छक्का र तीन चौकासहित ५२ रन बनाए। अर्जुन कुमालले ४३, रोहितकुमार पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, इशान पाण्डेले १३ तथा बसिर अहमदले अविजित १५ रन जोडे।
पहिलो विकेटका लागि आसिफ र अर्जुनले ९७ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए। यूएईका इब्रार अहमदले चार, खुजैमा तनवीरले दुई तथा हैदर अली र आदिब उस्मानीले एक–एक विकेट लिए।
योसँगै नेपाल दोस्रोपटक एसिया कपका लागि छनोट भएको छ। यसअघि नेपाल सन् २०२३ मा पनि एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा पुगेको थियो।