पटेर्वा सुगौलीमा सामुदायिक सिकाइ केन्द्र सुदृढीकरणका लागि अभिमुखीकरण

56

वीरगञ्ज आनन्द पटेल।

पर्साको पटेर्वा सुगौली गाउँपालिकामा सामुदायिक सिकाइ केन्द्र (सीएलसी) को संस्थागत सुदृढीकरण तथा प्रभावकारी सञ्चालनका लागि स्थानीय तहसँग पैरवी र कार्यविधि सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा People in Need (PIN), Accountability Lab Nepal, National Campaign for Education Nepal (NCE Nepal) र Nepal Disabled Women Association (NDWA) को सहकार्यमा दिव्य विकास स्रोत केन्द्र (DDRC), पर्साको साझेदारीमा सञ्चालित पहुँच परियोजना (ACCESS Project) अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।

दिव्य विकास स्रोत केन्द्र, पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश कुमार चौधरी प्रमुख अतिथि तथा उपाध्यक्ष ममता महतो विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा गाउँपालिकाका वडा नं. १ का वडाध्यक्ष फारमान अंसारी, वडा नं. ३ का वडाध्यक्ष माधो चौधरी, वडा नं. ४ का वडाध्यक्ष बासु पंजियार, शिक्षा शाखाका प्रतिनिधि, महिला तथा बालबालिका शाखा प्रमुख, विद्यालयका प्रतिनिधि तथा अन्य सरोकारवालासहित १८ जनाको सहभागिता रहेको थियो।

 

कार्यक्रममा सामुदायिक सिकाइ केन्द्रको आवश्यकता, संस्थागत सुदृढीकरण, प्रभावकारी सञ्चालन तथा यसको विकासमा स्थानीय तहको भूमिका र जिम्मेवारीबारे छलफल गरिएको थियो। साथै, सामुदायिक सिकाइ केन्द्रलाई व्यवस्थित, प्रभावकारी र दिगो रूपमा सञ्चालन गर्न आवश्यक कार्यविधि निर्माण, स्वीकृति तथा कार्यान्वयनका विषयमा अभिमुखीकरण प्रदान गरिएको थियो।

कार्यक्रममा अकाउन्टेबिलिटी ल्याब नेपालका प्रतिनिधि अकलेश कुमार साह तथा दिव्य विकास स्रोत केन्द्र, पर्साका कार्यक्रम जिम्मेवार अमित कुमार राउतले सहजीकरण तथा समन्वय गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले सामुदायिक सिकाइ केन्द्रको संस्थागत विकास र प्रभावकारी सञ्चालनका लागि आवश्यक कार्यविधि गाउँ कार्यपालिकाको आगामी बैठकबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे। उनले गाउँपालिकामा सामुदायिक सिकाइ केन्द्र सञ्चालनका लागि आवश्यक पहल गर्ने पनि बताए।

सामुदायिक सिकाइ केन्द्रलाई समुदायमा शिक्षाको पहुँच विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा विकास गर्न स्थानीय तहको सक्रिय भूमिका आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो।

कार्यक्रमबाट सामुदायिक सिकाइ केन्द्रको संस्थागत सुदृढीकरण, स्थानीय तहको स्वामित्व अभिवृद्धि तथा समुदायमा सिकाइका अवसर विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। केन्द्रको प्रभावकारी सञ्चालनले बालबालिका, किशोरकिशोरी, युवा, महिला तथा शिक्षाबाट वञ्चित समुदायका सदस्यलाई सिकाइका अवसरसँग जोड्दै आजीवन सिकाइको अवधारणा प्रवर्द्धन गर्न योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.