जिल्ला विपद् पूर्वतयारी कमाण्ड पोस्टद्वारा कात्तिक १२ देखि १४ गतेसम्म सतर्क रहन पर्सावासीलाई आग्रह
वीरगञ्ज, कात्तिक १०।
सम्भावित चक्रवातका कारण हुन सक्ने भारी वर्षा, हावाहुरी तथा चट्याङबाट जनधनको क्षति न्यूनीकरण गर्न पर्सा जिल्लामा विपद् पूर्वतयारीलाई तीव्र पारिएको छ। जिल्ला विपद् पूर्वतयारी कमाण्ड पोस्टको बैठकले सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायलाई आगामी २४ घण्टा उच्च सतर्कतामा रहन र आवश्यक उद्धार तथा राहतका सामग्री तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनलाई आधार मानेर कात्तिक १० गते बसेको बैठकले सम्भावित चक्रवातको प्रभावबाट मधेश प्रदेशलगायतका क्षेत्रमा मौसम प्रतिकूल हुन सक्ने भन्दै विपद् प्रतिकार्यका लागि विभिन्न निर्णय गरेको हो।
बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, सरकारी कार्यालय, स्थानीय तह तथा गैरसरकारी संस्थालाई आवश्यक जनशक्ति, उद्धार सामग्री र स्रोतसाधनसहित तयारी अवस्थामा रहन आग्रह गरेको छ। सम्भावित विपद्का बेला तत्काल परिचालन हुन सक्ने गरी आवश्यक व्यवस्थापन मिलाउनसमेत निर्देशन दिइएको छ।
स्थानीय तहलाई उद्धार तथा राहतको तयारी गर्न निर्देशन
बैठकले पर्सा जिल्लाका सबै स्थानीय तहअन्तर्गतका विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउँदै जोखिमयुक्त क्षेत्रको पहिचान गर्न र उद्धार तथा राहतका आवश्यक सामग्री तयारी अवस्थामा राख्न आग्रह गरेको छ।
बाढी, डुबान तथा हावाहुरीबाट प्रभावित हुन सक्ने क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्न आवश्यक पर्ने आपत्कालीन आश्रयस्थलको पहिचान तथा व्यवस्थापन गर्नसमेत निर्देशन दिइएको छ। उद्धार कार्यमा प्रयोग हुने एक्स्काभेटर, डम्पर र जेसीबीजस्ता साधनलाई इन्धनसहित तयारी अवस्थामा राख्न स्थानीय तहलाई भनिएको छ।
किसानलाई धानबाली सुरक्षित राख्न आग्रह
सम्भावित प्रतिकूल मौसमबाट कृषि क्षेत्रमा हुन सक्ने क्षति न्यूनीकरण गर्न बैठकले किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। कात्तिक १२ गते बिहीबार अघि पाकेको धान काट्ने, भित्र्याउने तथा मियाँउ लगाउनेलगायतका कृषि कार्यबारे स्थानीय विपद् व्यवस्थापन समितिमार्फत किसानलाई तत्काल जानकारी गराउने निर्णय गरिएको छ।
त्यसैगरी काटिसकेको धान सुरक्षित स्थानमा भण्डारण गर्न तथा मौसमको अवस्था प्रतिकूल भएमा धान काट्नेलगायतका कृषि कार्यमा सावधानी अपनाउन किसानलाई सूचित गरिने जनाइएको छ।
सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न आग्रह
सम्भावित चक्रवातको प्रभावलाई ध्यानमा राख्दै कात्तिक १२, १३ र १४ गते अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गर्ने निर्णय बैठकले गरेको छ। हावाहुरी तथा चट्याङका बेला सुरक्षित स्थानमा आश्रय लिन र अनावश्यक यात्रा नगर्न समेत अनुरोध गरिएको छ।
यस सम्बन्धी सूचना स्थानीय सञ्चारमाध्यम, एफएम रेडियो तथा सामाजिक सञ्जाल मार्फत व्यापक रूपमा प्रचारप्रसार गरिने छ। सूचना प्रवाहमा सहयोग गर्न नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था, रेडक्रस, प्याब्सन, एनप्याब्सन, शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहलाई आग्रह गरिएको छ।
बैठकमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष एवं समाजसेवी कमल चौगाई लगायत विभिन्न निकायका प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो।
बैठकले सम्भावित विपद्बाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको निष्कर्ष निकाल्दै पूर्वतयारी, उद्धार तथा राहतका कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई सक्रिय रहन आग्रह गरेको छ।