पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित
पर्सा, कार्तिक १०।
तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै आएको ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण पर्सा जिल्लाबाट सुरु भएको छ।
विद्यार्थीहरूमा कानुनी सचेतना अभिवृद्धि गर्ने, संविधान तथा कानुनी व्यवस्थाबारे जानकारी गराउने र उनीहरूलाई आफ्नो अधिकार तथा कर्तव्यप्रति सचेत बनाउने उद्देश्यले अभियान अन्तर्गत कार्तिक ९ गतेदेखि पर्सामा कार्यक्रम सञ्चालन गरिएको हो।
अभियानको पहिलो दिन टिम पर्साले चारवटा विद्यालयमा ६ वटा कानुनी सचेतनामूलक सत्र सञ्चालन गरेको छ। जस अन्तर्गत साउथजोन सेकेन्डरी स्कुलमा तीनवटा, गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा एउटा, हिमालयन पिरामिड सेकेन्डरी स्कुलमा एउटा र मेरिगोल्ड सेकेन्डरी स्कुलमा एउटा सत्र सञ्चालन गरिएको थियो। पहिलो दिनमै २५० भन्दा बढी विद्यार्थीलाई कानुनी सचेतना प्रदान गरिएको पर्सा टिमका संयोजक रवि मिश्रले जानकारी दिएका छन्।
कार्यक्रममा टिम पर्साका स्रोत व्यक्ति रवि मिश्र, किरण गुप्ता, आदर्श गुप्ता, आलोक शर्मा, जय गुप्ता, सुरज शाह, रोशन यादव र प्रियंका शाहले सहजीकरण गरेका थिए।
अभियानको मुख्य उद्देश्य मधेश प्रदेशका विद्यार्थीलाई कानुनी रूपमा सचेत बनाउनुका साथै नेपालको संविधान, मौलिक हक, कानुनी प्रावधान तथा नागरिकका अधिकार र कर्तव्यबारे जानकारी प्रदान गर्नु रहेको छ। यसका साथै विद्यार्थीहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास, संसदीय अभ्यास तथा लोकतान्त्रिक प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गर्नु पनि अभियानको प्रमुख लक्ष्य रहेको छ।
कानुनी शिक्षा पाठ्यपुस्तकमा मात्र सीमित नराखी विद्यार्थीलाई व्यवहारिक रूपमा कानुन बुझाउने र सचेत, जिम्मेवार तथा सक्षम नागरिक निर्माण गर्ने लक्ष्यसहित अभियान सञ्चालन भइरहेको आयोजकले जनाएको छ।
पहिलो दिन विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएसँगै टिम पर्साले आगामी दिनमा पनि जिल्लाका विभिन्न विद्यालयमा अभियानलाई निरन्तरता दिँदै कानुनी सचेतना विस्तार गर्ने लक्ष्य लिएको छ। विद्यालयस्तरबाटै कानुनी ज्ञान र लोकतान्त्रिक मूल्यबारे जानकारी प्रदान गर्दा विद्यार्थीहरू आफ्ना अधिकार प्रति सचेत हुनुका साथै कर्तव्य निर्वाह गर्न समेत प्रेरित हुने अपेक्षा गरिएको छ।