जिल्ला प्रहरी कार्यालय पर्साद्वारा ७ लाखका अवैध पटाका तथा विस्फोटक पदार्थ नष्ट

57

वीरगन्ज आनन्द पटेल।

जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न स्थानबाट बरामद गरेका करिब ७ लाख रुपैयाँ मूल्य बराबरका अवैध पटाका, अतिशबाजी तथा अन्य विस्फोटक पदार्थ नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएका विभिन्न चेकिङ टोलीले विभिन्न मिति र समयमा जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा भित्र्याइएका पटाका तथा विस्फोटक पदार्थ नियन्त्रणमा लिएका थिए ।

प्रहरीले बरामद गरेका करिब ७ लाख रुपैयाँ मूल्य बराबरका पटाका, अतिशबाजी तथा अन्य विस्फोटक पदार्थ मंगलबार बिहान ११ बजे जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा नष्ट गरेको हो ।

सञ्चारकर्मीहरूको समेत उपस्थितिमा बरामद गरिएका विस्फोटक पदार्थलाई खाल्डोमा राखी पानीसमेत हालेर पुरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तिहार तथा छठजस्ता पर्वका समयमा पटाका र विस्फोटक पदार्थको अवैध कारोबार तथा प्रयोगले आगलागी, दुर्घटना र मानवीय क्षतिको जोखिम बढाउने भएकाले प्रहरीले यस्ता सामग्रीको ओसारपसार तथा बिक्रीवितरण नियन्त्रण गर्न निगरानी बढाउँदै आएको प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिएका छन।

Leave A Reply

Your email address will not be published.