शाखा अधिकृत साह पदको घमण्डमा लिप्त: श्रीमतीमाथि सामाजिक, शारीरिक, मानसिक र नैतिक यातना

10

रौतहटको चन्द्रपुर नगरपालिकामा कार्यरत प्रशासकीय शाखा अधिकृत मिश्रीलाल साह आफ्नै श्रीमती रोशनी साहको अस्तित्वलाई कुल्चँदै, पदको घमण्ड र पैसाको भर्ममा डुबेर दोहोरो जीवनयापन गर्दै आएका छन् ।

हालै काठमाडौंमा अर्की महिलासँग अनैतिक सम्बन्ध बनाइरहेको अवस्थामा प्रहरीद्वारा पक्राउ परेका साहको यो कर्तुत सार्वजनिक भएपछि उहाँको पारिवारिक जीवनमा चिरा मात्र परेन, श्रीमती र सन्तानको जीवन नै अन्धकारमा धकेलिएको छ।

प्रशासकीय पदमा नियुक्त भएपछि विधिवत् मागी विवाह गरेका साहले आफ्नी धर्मपत्नी रोशनी साहलाई लुकाईछिपाई, काठमाडौंमा अर्की महिलासँग घनिष्ठ सम्बन्ध राख्दै आएका थिए । यही क्रममा अनैतिक सम्बन्धका कारण उनी प्रहरीको फन्दामा परे । जब यो घटना सार्वजनिक भयो, पीडित श्रीमती रोशनीले चन्द्रपुरस्थित कार्यकक्षमै पुगेर श्रीमानलाई प्रश्न गर्दा उनलाई सार्वजनिक रूपमै कुटपिट गरिएको थियो । यस घटनाले परिवारमा गहिरो दरार ल्याएको छ, जुन अहिले सम्बन्ध विच्छेदको प्रक्रियासम्म पुगेको पीडित रोशनीले बताइन् ।

तर पीडित श्रीमती रोशनी साह आज पनि न्यायको खोजीमा भौतारिइरहेकी छन्। “जब म श्रीमती हुँ, दुई सन्तानकी आमा हुँ, तब म किन सम्बन्ध विच्छेद गर्नुपर्छ ?” भन्दै रोशनी साहले आँखा भरिएका छन्। उनले स्पष्ट रुपमा भनिन्, “जबसम्म म बाँचिरहेकी छु, म न सम्बन्ध विच्छेद गर्छु, न अर्को बिहे गर्छु ।”

उता मिश्रीलाल साह भने आफू प्रशासकीय पदमा रहेको, पहुँच र पैसाको आडमा सबै कानुनी प्रक्रिया र नैतिक उत्तरदायित्वबाट उम्किन सक्ने भ्रममा छन् । हाल उनी काठमाडौंमै उही महिलासँग लुकीछिपी बस्ने र भेटघाट गर्ने गरेका रोशनीले दुखेसो पोखिन् ।

साहको यस्तो असंवेदनशील, क्रूर र गैरजिम्मेवार व्यवहारले ९ वर्षका छोरा, ४ वर्षकी छोरी र धर्मपत्नी रोशनीको भविष्यमा अन्धकार मात्र ल्याएको छैन, महिला अधिकार र मानवीयता माथि नै गम्भीर प्रहार गरेको छ। आफ्नो श्रीमती हुदाहुँदै अर्को महिला संग विवाह गर्ने नियतले साहले रोशनीमाथि सामाजिक बहिष्कार, मानसिक त्रास, शारीरिक हिंसा, आर्थिक बन्धन र पारिवारिक विखण्डन जस्ता चरम अत्याचारहरू गर्दै आइरहेका रोशनीले बताएकी छन्।

अब प्रश्न उठेको छ – के यस्ता पदाधिकारीहरू जसले आस्थाको मर्यादा तोड्छन्, कानुनी र नैतिक मूल्यमाथि ठेस पुर्‍याउँछन्, उनीहरूलाई अझै राज्य संयन्त्रले संरक्षण दिने हो ? र रोशनी जस्ता पीडित महिलाले कहिले न्याय पाउने हुन् ?

Leave A Reply

Your email address will not be published.