पर्सामा बाढीको प्रकोप : ३८ जनाको उद्धार, १३२ पशु सुरक्षित, १ गाईको मृत्यु

74

वीरगञ्ज, १९ असोज। अविरल वर्षापछि आएको बाढीले पर्सा जिल्लाका विभिन्न स्थानमा जनधनको ठूलो क्षति पुर्‍याएको छ। बाढीमा फसेका दर्जनौँ व्यक्ति र पशुचौपायाको उद्धार गरिएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा जिल्लाका विभिन्न स्थानबाट ३८ जनाको जीवित उद्धार गरिएको हो।
प्रहरीका अनुसार, पोखरिया नगरपालिका–२ बाट २० जना, वीरगञ्ज महानगरपालिका–१३ राधेमाईबाट ७ जना वयस्क र ५ जना बालबालिका गरी १२ जना, वीरगञ्ज–११ बिद्यापति नगरबाट ७ जना तथा वीरगञ्ज–१६ भुटनदेवी मन्दिर नजिकबाट ४ जनाको उद्धार गरिएको हो।

यसैबीच, रामगढवास्थित वीरगञ्ज गौशाला गाई फार्म बाढीले प्रभावित बनेको छ। फार्ममा रहेका १३२ वटा पशुचौपाया सुरक्षित रूपमा उद्धार गरिएका छन् भने एक गाईको मृत्यु भएको जनाइएको छ ।

बाढीका कारण बस्तीहरूमा पानी पसेको र दैनिक जनजीवन प्रभावित बनेको स्थानीय प्रशासनले जनाएको छ।
प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.