जनसेवामा सशस्त्र प्रहरी : गर्भवती महिलाको उद्धार गरी सुरक्षित उपचारका लागि अस्पताल पुर्‍याइयो

58

वीरगंज, असोज २० आनन्द पटेल । समयमै उपचार नपाएर ज्यान जोखिममा पर्न सक्ने अवस्थामा एक गर्भवती महिलालाई सशस्त्र प्रहरी बल, नेपाल नं। १३ गण हेडक्वाटर पर्साको टोलीले उद्धार गरी अस्पताल पुर्‍याएको छ । मिति २०८२ साल असोज १९ गते साँझ करिब ६ बजेको समयमा वीरगंज महानगरपालिका–११ श्रीपुरस्थित दिनेश चौरसियाको घरमा डेरा गरी बस्दै आएकी ३१ वर्षीया रिचा चौधरी अचानक स्वास्थ्य समस्या आएपछि परिवारका सदस्यले सहयोगका लागि सशस्त्र प्रहरीलाई जानकारी गराएका थिए ।

जिल्ला सखुवाप्रसौनि गाउँपालिका–३ स्थायी घर भएकी रिचालाई सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको कमाण्डमा खटिएको ११ जनाको उद्धार टोलीले शीघ्र उद्धार कार्य सञ्चालन गरी बीरगंज हेल्थ केयर अस्पतालमा सुरक्षित रूपमा पुर्‍याएको सशस्त्र प्रहरी बल नं। १३ गण पर्साले जानकारी दिएको छ । उद्धारपछि अस्पतालमा उपचारका लागि पुर्‍याइएकी रिचा चौधरी र गर्भस्थ शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

सशस्त्र प्रहरी बल, नेपालले सीमावर्ती क्षेत्र तथा समुदायमा आपत्कालीन अवस्थाका बेला जनजीवन रक्षित गर्न नियमित रूपमा उद्धार तथा सहयोगका गतिविधि गर्दै आएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.