बाराको दुधौरा नदीमा टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका युवकको शव ६ दिनपछि फेला
वीरगन्ज । बाराको दुधौरा नदीमा टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका २१ वर्षीय बिक्की गोसाईंको शव ६ दिनपछि आज बिहान फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार फेटा गाउँपालिका–१ स्थित त्रिवेणी खोलाको पुलबाट करिब १०० मिटर दक्षिण, खोलाको बीच भागमा बालुवाले पुरिएको अवस्थामा उनको शव भेटिएको हो।
गोसाईं असोज १९ गते आफ्ना साथी २० वर्षीय अनुराग केसरीसँगै टिकटक भिडियो बनाउन खोलामा हाम फालेका थिए। यस क्रममा केसरी पौडिएर सकुशल बाहिर निस्कन सफल भए पनि गोसाईं भने बेपत्ता भएका थिए। उनको खोजी कार्य निरन्तर जारी थियो।
शुक्रवार बिहान करिब ७ बजे बिक्कीका बुवा शम्भु गोसाईंले इलाका प्रहरी कार्यालय प्रसौनीलाई शवबारे जानकारी गराएपछि प्रहरी निरीक्षक टपेन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी निरीक्षक श्रेष्ठका अनुसार खोलाको बगरमा खुट्टा र कपडाको आधा भाग बालुवाले ढाकिएको अवस्थामा शव फेला परेको थियो।
बारा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ९डिएसपी० विजयराज पण्डितले स्थानीयले खबर गरेपछि शवको पहिचान बिक्की गोसाईंको रूपमा पुष्टि भएको जानकारी दिए।
प्रहरीले अनुसन्धान तथा मुचुल्का प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको छ।