दीपावलिको अवसरमा वीरगन्ज कपडा बैंकद्वारा ९ सय थान कपडा वितरण
वीरगन्ज, कात्तिक १ ।
वीरगन्ज कपडा बैंकले शुभ दीपावलिको अवसरमा शुक्रबार वीरगन्जको घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ।
बैंकले प्रत्येक हप्ता आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० देखि साँझ ५ बजेसम्म वीरगन्ज–८ स्थित कार्यालयबाट गरीब तथा असहाय व्यक्तिहरूलाई नि:शुल्क कपडा वितरण गर्दै आएको छ। यसै क्रममा शुक्रबारको कार्यक्रममा नयाँ र पुराना गरी करिब ९ सय थान कपडा वितरण गरिएको बैंकका सचिव कन्हैया पटेलले जानकारी दिए।
संस्थाका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समाजसेवी तथा अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी र विशिष्ट अतिथि अधिवक्ता पन्नालाल गुप्ताको आतिथ्य रहेको थियो।
कार्यक्रममा समाजसेवी हुकुम सिंह, नरेन्द्र पटेल, संस्थाका सल्लाहकार श्रवण बहादुर रायमाझी, उपाध्यक्ष मोनिका सिंह, सदस्यहरू निला कुमारी राम, जानकी देवी, सञ्जय मण्डल, नवराज भट्टराई, केदार गुप्ता, मनोज यादव, साथै सञ्चारकर्मीहरू नेपाल पत्रकार महासंघ पर्साका सदस्य राहुल गुप्ता, राज सराफ, रामजी यादव, निरन्जन साह, विशाल यादव, धर्मेन्द्र साह, पवन प्रसाद साह, सिके प्रजापति र अर्जुन चौधरी लगायतको सहभागिता रहेको थियो।
सो अवसरमा प्रमुख अतिथि अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीले “जोसँग धेरै कपडा छ, हामीलाई दिएर जानुस्; जसलाई आवश्यक छ, हामीसँग नि:शुल्क लिएर जानुस्” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कपडा बैंकले ६ वर्षदेखि निरन्तर मानवतामूलक सेवा सञ्चालन गर्दै आएको बताए। उनले आगलागी, बाढी लगायत विपद्मा परेकालाई घरमै पुगेर लत्ताकपडा तथा आवश्यक सामग्री सहयोग गर्दै आएको कपडा बैंकको कार्य प्रशंसनीय रहेको बताए।
कुर्मीले सबैलाई आफ्नो आम्दानीको ५ देखि १० प्रतिशत रकम असहाय सेवामा खर्च गर्ने बानी बसाल्न आग्रह गर्दै दीपावली तथा छठ पर्वको शुभकामना समेत व्यक्त गरे।
त्यसैगरी विशिष्ट अतिथि अधिवक्ता पन्नालाल गुप्ताले सामूहिक सहयोग र एकताको भावना मार्फत मात्र असहायको सेवा सम्भव हुने उल्लेख गर्दै बैंकको समाजसेवी कार्यमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए।
अन्त्यमा अध्यक्ष लालबाबू सिंहले कपडा बैंकको मानवीय अभियानमा साथ र सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक, सल्लाहकार तथा पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरे।