पर्सा–बारामा हैजा खोप अभियान सफल, ७१% जनसङ्ख्याले खोप लगाइसके

237

पर्सा र बारामा हैजा विरुद्धको खोप अभियान प्रभावकारी रूपमा अघि बढिरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म लक्षित जनसङ्ख्याको ७१ प्रतिशतले खोप लगाइसकेका छन्, जसले अभियान सफलतापूर्वक अगाडि बढिरहेको संकेत गर्दछ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमका अनुसार दुवै जिल्लामा गरी १० लाख १८ हजार ६० जनालाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको हो। तीमध्ये ७ लाख २३ हजार ८३६ जनाले खोप लगाइसकेका छन्।

पर्सा जिल्लामा असोज २६ गतेदेखि अभियान सुरु गरिएको थियो। छैटौं दिनसम्म ६ लाख ५२ हजार १२९ लक्षित मध्ये ४ लाख ५६ हजार ७७८ जनाले खोप लगाइसकेका छन्। पर्साका सबै स्थानीय तहमा अभियान सञ्चालन भइरहेको छ।

बारामा असोज २७ गतेदेखि अभियान सुरु भएको हो। सीमा नजिकका ६ वटा पालिकामा ३ लाख ६५ हजार ९३१ जनामध्ये २ लाख ६७ हजार ५८ जनाले खोप लगाइसकेका छन्।

डा। गौतमका अनुसार हैजा महामारीको जोखिम कम गर्न पर्सा जिल्लाका सबै पालिका र बाराका जोखिमयुक्त क्षेत्रका पालिकामा खोप कार्यक्रम सञ्चालन गरिएको छ। अभियान भोलिसम्म निरन्तर चल्नेछ र बाँकी जनसङ्ख्यालाई खोप पहुँच पुर्‍याउन स्वास्थ्यकर्मीहरू सक्रिय छन्।

स्वास्थ्य मन्त्रालयले खोप अभियानलाई अझ तीव्र पार्दै नागरिकलाई थप प्रोत्साहित गर्ने रणनीति बनाएको छ। स्थानीय तह, स्वयंसेवक र स्वास्थ्य संस्थाको सहकार्यमा जनचेतना मूलक गतिविधि पनि सञ्चालन भइरहेको छ।

हैजा नियन्त्रणका लागि खोपसँगै सुरक्षित खानेपानी, सरसफाइ सुधार र सचेतनामूलक कार्यक्रम पनि समानान्तर रूपमा अघि बढाइएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार अभियानले जोखिमग्रस्त समुदायमा रोग फैलिनबाट रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.