पर्सामा सशस्त्र प्रहरीद्वारा ५७ लाख भन्दा बढीका सामान भन्सारमा बुझायो

62

मंसिर ५ वीरगञ्ज आनन्द पटेल।

सशस्त्र प्रहरी बल नेपाल पर्साले पछिल्ला दिनहरूमा विभिन्न स्थानहरूमा सञ्चालन गरेको विशेष सुराकी र निगरानीका क्रममा करिब ५७ लाख रुपैयाँ भन्दा बढीका भन्सार छलिएका सामान तथा अवैध रकम बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रहरी सुरक्षा गुल्म वीरगञ्जका सशस्त्र प्रहरी नायब उपरीक्षक  पुरुषोत्तम भण्डारीको कमाण्डमा संयुक्त टोली परिचालन गरिएको थियो।

उक्त टोलीमा वीरगञ्ज भन्सार कार्यालयका नायब सुब्बा हफिजुल्ला अन्सारी समेत सहभागी थिए।

संयुक्त टोलीले पर्सा, वीरगञ्ज–१० आदर्शनगर स्थित एक पुरानो घरमा भन्सार छलि भण्डारण गरी राखिएको किराना सामान तथा औषधि गरी करिब रु. ५४,२८,६००।– बराबरको सामग्री बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले विभिन्न स्थानमा गरिएको अबरूद्ध गस्ती तथा निगरानीबाट किराना, कपडा तथा हार्डवेयर सामग्री गरी रु. ३,३९,१७५।– बराबरका सामान बरामद गरी भन्सारमा बुझाएको छ।

अवैध रकम सहित लगातार तीन स्थानबाट करिब २० लाख बरामद-

सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वार्टर बाराले बारा जिल्लाको विश्रामपुर क्षेत्रमा अवैध कारोवारमा संलग्न आशंकामा रु. १०,८०,०००।– र रु. ६,१५,०००।– गरी दुई छुट्टा घटनामा रकम बरामद गरेको छ।

यसबाहेक सशस्त्र प्रहरी बल नेपाल प्रहरी सुरक्षा गुल्म वीरगञ्जले वीरगञ्ज–१६, भन्सार मेनगेट क्षेत्रबाट रु. ३,००,०००।– अवैध रकम बरामद गरी भन्सार कार्यालय बुझाएको थियो।

यी तीनै घटनाबाट कुल रु. १९,९५,०००।– बराबरको अवैध रकम नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा अपराध नियन्त्रणमा सशस्त्र प्रहरी बलको कडाइ-

सशस्त्र प्रहरी बल पर्साले सीमा क्षेत्र हुँदै हुने अवैध चोरी–तस्करी, लागुऔषध ओसारपसार, अवैध रकम तथा हातहतियार ओसारपसार जस्ता गतिविधि रोकथाममा आफ्नो सक्रियता बढाएको छ।

सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट, गणपति, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले खुला सीमाको दुरुपयोग गर्दै हुने अवैध गतिविधिहरू रोक्न कुनै कसर बाँकी नराखिने स्पष्ट बताएका छन्।

उनका अनुसार सीमावर्ती क्षेत्रका नागरिकलाई राजस्वको महत्व, अवैध कारोबारका जोखिम तथा सुरक्षा निकायसँग सहकार्यका विषयमा नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

Leave A Reply

Your email address will not be published.