सिमरामा जेनजी युवा र एमाले कार्यकर्ता बीचको झडपप्रति जेनजी युवा समूह अध्यक्ष भगवान कुर्मीको आपत्ति
बिरगञ्ज । बाराको सिमरामा जेनजी युवा र नेकपा एमालेका कार्यकर्ता बीच बुधबार भएको झडपप्रति जेनजी युवा समूह पकहामैनपुरका अध्यक्ष भगवान कुर्मीले गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको कडा भर्त्सना गरेका छन्। उनले अराजक गतिविधि कुनै हालतमा स्वीकार्य नसक्ने भन्दै संलग्न व्यक्तिहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरे।
कुर्मीले भने, “देशको जुनसुकै ठाउँमा शान्ति–सुरक्षालाई खलल पुर्याउने अराजक समूह वा व्यक्तीलाई कानुनी दायरामा ल्याउनैपर्छ। नेपाल कसैको बाउको बिर्ता होइन। सबैलाई शान्तिपूर्ण रूपमा विचार राख्ने मौलिक अधिकार छ।”
उनका अनुसार २३ र २४ गते जेनजीको नाममा भएका विध्वंसात्मक गतिविधि वास्तविक जेनजी युवाले नभई विदेशी प्रभाव र दलाल समूहले आन्दोलनलाई दुरुपयोग गरेकाले भएको हो।
राजनीतिप्रति बढ्दो अविश्वासबारे कुर्मीले अहिले स्वार्थ, पद–लोभ र भ्रष्ट मानसिकताबाट निर्देशित केही प्रतिनिधिका कारण दलप्रति जनताको विश्वास खस्किएको बताए।
“चुनावको बेला भात–मासु र पेट्रोलको पछि लागेर करोडौँ खर्च गर्नेलाई मत दिएर देश बन्न सक्दैन। सोच बदल्नुपर्छ,” उनले टिप्पणी गरे।
कुर्मीले जेनजीको आन्दोलन जायज रहे पनि फुटेर होइन, एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए। हालको अन्तरिम सरकार र भावी प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्व प्रक्रियाबारे पनि उनले प्रश्न उठाउँदै संवैधानिक विधि कायम हुनुपर्ने माग गरे।
अन्त्यमा उनले आन्दोलनलाई गलत दिशामा लैजाने विदेशी प्रभाव, दलाल समूह र भ्रामक प्रचार गर्नेहरूको पहिचान गरी कारबाही गर्न सरकारलाई आग्रह गर्दै देशमा सुशासन, स्थिरता र स्वच्छ नेतृत्वको आवश्यकता दोहोर्याए।