रोटरी र इन्टरेक्ट क्लबद्वारा आमाको माया छात्रवासमा सहयोग
वीरगञ्ज- वीरगञ्जमा रहेको आमाको माया छात्रवासमा अध्ययनरत विद्यार्थीहरूलाई जाडो मौसमलाई मध्यनजर गर्दै न्यानो कपडा तथा आवश्यक सामग्रीहरू वितरण गरिएको छ। रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिस तथा इन्टरेक्ट क्लब अफ DAV को संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल एवम् प्याब्सन वीरगञ्ज महानगरका अध्यक्ष राहुल श्रीवास्तव प्रमुख अतिथिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि श्रीवास्तवले यस्ता मानवीय तथा सामाजिक सेवामा संलग्न हुन पाउनु आफूका लागि गर्वको विषय भएको बताए। उनले समाजका विपन्न तथा सहयोग आवश्यक परेका वर्गका लागि गरिने यस्ता कार्यहरू अत्यन्तै प्रशंसनीय रहेको उल्लेख गर्दै आयोजक संस्थाहरूलाई धन्यवाद व्यक्त गरे। साथै, आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान गर्न उनले सुझाव दिए।
कार्यक्रममा रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिस तथा इन्टरेक्ट क्लब अफ DAV का पदाधिकारीहरू, शिक्षकहरू, समाजसेवी तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। जाडो मौसममा विद्यार्थीहरूको स्वास्थ्य र पठनपाठनलाई सहज बनाउने उद्देश्यले न्यानो कपडा लगायतका सामग्रीहरू वितरण गरिएको अध्यक्ष श्रीवास्तवले जानकारी दिनुभएको छ।