वीरगञ्जका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेशलाई निरन्तरता, दिउँसो १ बजेसम्म लागू

100

वीरगञ्ज, पुस २२ (आनन्द पटेल)

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार मिति २०८२ पुस २१ गते साँझ ६ बजेदेखि लागू कर्फ्यु आदेश आज पुस २२ गते दिउँसो १ बजेसम्म कायम रहनेछ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी कर्फ्यु आदेशअनुसार तोकिएको क्षेत्रमा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा आवतजावत गर्न निषेध गरिएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार कर्फ्यु क्षेत्रको सीमांकन पूर्वतर्फ पूर्व बसपार्क, नगवा र इनर्वा, पश्चिमतर्फ सिरिसिया नदी, उत्तरतर्फ गण्डक चौक तथा दक्षिणतर्फ शंकराचार्य गेट सम्म तोकिएको छ।

कर्फ्यु अवधिमा अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरिएको छ। तर एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा सञ्चार माध्यमका प्रतिनिधिहरूलाई आवश्यक परिचयपत्रका आधारमा आवतजावत गर्न अनुमति दिइने प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न कर्फ्यु आदेशको पूर्ण पालना गर्न सबै सरोकारवालामा अनुरोध गरेको छ।

Leave A Reply

Your email address will not be published.