वीरगञ्ज समाज सेवाको २१औँ महिनाको निःशुल्क भोजन कार्यक्रम नारायणी अस्पतालमा भव्य रूपमा सम्पन्न
वीरगञ्ज, २६ पुस
वीरगञ्ज समाज सेवाको पहलमा नारायणी अस्पताल, वीरगञ्जमा सञ्चालन हुँदै आएको साप्ताहिक निःशुल्क भोजन कार्यक्रम लगातार २१औँ महिनामा प्रवेश गर्दै सभ्य एवं भव्य रूपमा सम्पन्न भएको छ।
गत वर्षदेखि प्रत्येक शनिबार बिहान ९:३० बजेदेखि नारायणी अस्पतालको प्राङ्गणमा सञ्चालन हुँदै आएको यस कार्यक्रममा अस्पतालमा उपचाररत विपन्न बिरामी, कुरुवा, असहाय व्यक्तिहरू, रिक्सा तथा ई–रिक्सा चालक र यात्री बटुवाहरूलाई घरमा बनाइएको जस्तै सफा, सुद्ध, गुणस्तरीय तथा पोषिलो भोजन उपलब्ध गराइँदै आएको छ।
यस पटकको निःशुल्क भोजन कार्यक्रम लायन्स क्लबका संस्थापक मेल्विन जोन्सको जन्मजयन्तीको अवसरमा लायन्स क्लब अफ आदर्शनगर, वीरगञ्जको सहआयोजनामा सम्पन्न गरिएको हो। कार्यक्रममा भात, दाल, आलु–कोभीको तरकारी र भुटेको हरियो खुर्सानी समावेश गरिएको भोजन करिब ६ सय जनालाई वितरण गरिएको वीरगञ्ज समाज सेवाका सचिव तथा लायन्स क्लब आदर्शनगरका डिस्ट्रिक्ट एजुकेटिभ चिफ एवं पूर्व अध्यक्ष प्रकाश बाहेतीले जानकारी दिनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज समाज सेवाका अध्यक्ष अशोक गुप्ताले “सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै हरेक हप्ता करिब ४५० देखि ५०० जनाले यस सेवाबाट लाभ लिँदै आएको बताउनुभयो। दिनदुःखी र असहायको पेट भरिँदा उनीहरूको अनुहारमा देखिने मुस्कानले आफूहरूलाई अत्यन्त खुशी र गौरवान्वित महसुस हुने उल्लेख गर्दै उहाँले समाजका सबैलाई आ–आफ्नो स्थानबाट सेवा सहयोगमा जुट्न आग्रह गर्नुभयो। साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने लायन्स क्लब आदर्शनगर परिवार, दाताहरू तथा स्वयंसेवकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।
त्यसैगरी, मित्रराष्ट्र भारतको लायन्स क्लब रक्सौलका अध्यक्ष तथा समाजसेवी बिमल सराफले मेल्विन जोन्सको जन्मोत्सवको अवसरमा विश्वभर सञ्चालन भइरहेका सेवा कार्यक्रमअन्तर्गत वीरगञ्ज समाज सेवासँग सहकार्य गर्न पाउँदा गर्व लागेको बताउनुभयो। दिनदुःखी तथा असहायको सेवा नै मानवताको सबैभन्दा ठूलो धर्म र कर्म भएको उल्लेख गर्दै उहाँले मानवता बलियो बनाउन सबैलाई सेवा अभियानमा हातेमालो गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा वीरगञ्ज समाज सेवाका उपाध्यक्ष मनोज प्रसाद रौनियार, सदस्यहरू मदन प्रसाद गुप्ता, निसान्त लाठ, राजेन्द्र भट्टराई, लालबाबु सिंह, सान्चे मगर लगायतको उपस्थिति रहेको थियो। त्यस्तै, लायन्स क्लब आदर्शनगरका अध्यक्ष सुरेश रुङ्टा, उपाध्यक्ष किशोर गुप्ता, सचिव मनिष गोयल, सदस्यहरू महेश कादमिया, प्रदीप डालमिया तथा लायन्स क्लब रक्सौलका पूर्व अध्यक्ष साइमन रेक्ससहित पदाधिकारी एवं सदस्यहरूले सक्रिय रूपमा सेवा प्रदान गरेका थिए।