ज्ञानुदेवी मेमोरियल जुनियर फुटबलको उपाधि एसआर ग्यालेक्सीलाई
वीरगञ्ज (पर्सा),
आदर्शनगरमा जारी ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल प्रतियोगिता को उपाधि एसआर ग्यालेक्सी विद्यालय ले जितेको छ। १३ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगिता वीरगञ्ज महानगरपालिका वडा नं. ९ मा अवस्थित जीवन ज्योति सेकेन्डरी स्कूल को आयोजनामा सम्पन्न भएको हो।
जीवन ज्योति सेकेन्डरी स्कूलका सञ्चालक तथा प्रिन्सिपल शिवजीप्रसाद गुप्ता ले आफ्नी ममतामयी आमा ज्ञानुदेवीको स्मृतिमा सुरु गरेको यो जुनियर फुटबल प्रतियोगिताको समापन समारोहमा विजेता तथा सहभागी विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
समापन समारोह जीवन ज्योति माध्यमिक विद्यालयका सञ्चालक एवं प्रिन्सिपल शिवजीप्रसाद गुप्ताको अध्यक्षता तथा वीरगञ्ज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा महाशाखा प्रमुख लामिछानेले विद्यार्थीहरूलाई शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिन आवश्यक रहेको बताए। उनले ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल प्रतियोगिताजस्ता कार्यक्रमले बालबालिकाको शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि योगदान पुर्याउने विश्वास व्यक्त गरे।
विद्यालयका सञ्चालक शिवजीप्रसाद गुप्ताले आमाको नाममा खेलकुद प्रतियोगिता आयोजना गर्न पाउँदा आफूलाई गर्व लागेको बताए। यस्ता खेलकुद गतिविधिले विद्यार्थीहरूको शारीरिक, मानसिक विकास गर्नुका साथै समाज र राष्ट्रलाई चिनाउने महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो। ग्रासरुट स्तरबाटै विद्यार्थीहरूलाई खेलकुदमा तयारी गराए भविष्यमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने शिक्षा महाशाखा प्रमुख लामिछानेले समेत बताए।
समापन समारोहमा प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पुरान प्रधान, प्याब्सनका सल्लाहकार मणि पाख्रिङ र लालबाबु पटेल, प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तव, उपाध्यक्ष शर्मानन्द कुशवाहा, पूर्व अध्यक्ष तथा हिसन जिल्ला उपाध्यक्ष आलोक चौरसिया, प्याब्सन महानगर सचिव अमित आलोक, कोषाध्यक्ष सुरज बाबु पटेल, जिएचपी स्कूलका डाइरेक्टर तथा प्रिन्सिपल रमित कौर लगायत विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक तथा शिक्षिकाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य जीवन ज्योति स्कूलकी सञ्चालिका मिनाक्षी गुप्ताले गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण पत्रकार उज्ज्वल घिमिरेले गरेका थिए।