बारा क्षेत्र नं. ४ मा सञ्जु साहको पकड मजबुत, घरदैलो अभियान प्रभावशाली
बारा, फेटा । जनता समाजवादी पार्टी, नेपाल (जसपा) बारा क्षेत्र नं. ४ अन्तर्गत फेटा गाउँपालिका वडा नं. १ त्रिवेनीमा भव्य रूपमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ। आसन्न निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा उम्मेदवार सञ्जु साहले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुभएको थियो।
कार्यक्रममा पूर्व मुख्यमन्त्री जितेन्द्र सोनल, संविधानसभा सदस्य जयप्रकाश यादव, महिला नेतृ रिता पटेल तथा पार्टीका विभिन्न तहका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
घरदैलो अभियानका क्रममा टोलीले त्रिवेनीका विभिन्न टोलमा पुगेर घर–घरमा भेटघाट गरेको थियो। स्थानीयवासीले फूलमाला, अबिर तथा नारासहित स्वागत गर्दै पार्टीप्रति आफ्नो समर्थन व्यक्त गरेका थिए। कार्यक्रममा बोल्दै उम्मेदवार सञ्जु साहले शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, सिँचाइ, सडक विस्तार तथा युवालाई स्वरोजगारका अवसर सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

पूर्व मुख्यमन्त्री सोनलले मधेसको अधिकार, पहिचान र समृद्धिका लागि जसपाको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै बारा क्षेत्र नं. ४ मा पार्टीलाई मजबुत बनाउन सबै एकजुट हुन आग्रह गर्नुभयो। संविधानसभा सदस्य जयप्रकाश यादवले संविधानले दिएको अधिकारको प्रभावकारी कार्यान्वयन र स्थानीय तहको सशक्तिकरणमा जोड दिनुभयो।
स्थानीय जनतासँगको प्रत्यक्ष संवाद, जनचासोका विषयमा स्पष्ट धारणा र विकासमुखी एजेण्डाका कारण युवा नेता सञ्जु साहको क्षेत्र नं. ४ मा प्रभाव दिनप्रतिदिन बलियो बन्दै गएको नेताहरूको दाबी छ। घरदैलो अभियानले निर्वाचन क्षेत्रमा जसपाको संगठनात्मक उपस्थिति थप सुदृढ भएको कार्यकर्ताहरूले बताएका छन्।