पर्सा–१ मा ओमप्रकाश सरार्फको १२ बुँदे विकास एजेन्डा सार्वजनिक
वीरगञ्ज (पर्सा), १३ फागुन। पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ओमप्रकाश सरार्फ ले आगामी निर्वाचनलाई लक्षित गर्दै विकासमूलक १२ बुँदे एजेन्डा सार्वजनिक गरेका छन्। नागरिकको जीवनस्तर उकास्ने, रोजगारी सिर्जना गर्ने, शिक्षा–स्वास्थ्य सुधार गर्ने तथा वीरगञ्जलाई व्यवसायमैत्री र समृद्ध सहर बनाउने लक्ष्यसहित तयार पारिएको उक्त योजनाले स्थानीय तहमा चर्चा पाएको छ।
रोजगारी र अर्थतन्त्रमा जोड-
सरार्फका अनुसार वीरगञ्ज देशकै प्रमुख व्यापारिक नाका भए पनि युवाहरूको ठूलो संख्या वैदेशिक रोजगारीतर्फ जान बाध्य छन्। वार्षिक ७–८ लाख युवाको विदेश पलायन हुने तथ्यांकलाई चुनौतीका रूपमा उल्लेख गर्दै उनले स्थानीय उद्योग प्रवर्द्धन, १० हजार युवालाई सीप तालिम, ५ अर्ब रुपैयाँको युवा स्वरोजगार कोष तथा स्टार्टअप सहयोगमार्फत ५ वर्षभित्र कम्तीमा ३० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य प्रस्तुत गरेका छन्।
शिक्षा सुधार-
सामुदायिक विद्यालयमा डिजिटल पूर्वाधार अभाव र उच्च ड्रपआउट दरलाई मध्यनजर गर्दै विद्यालय स्तरोन्नति, स्मार्ट कक्षा विस्तार, शिक्षक तालिम तथा विपन्न विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम लागू गरिने योजना उनले अघि सारेका छन्। ५ वर्षभित्र विद्यालय छोड्ने दर उल्लेख्य रूपमा घटाउने लक्ष्य रहेको उनको भनाइ छ।
स्वास्थ्य पहुँच विस्तार-
स्वास्थ्य खर्चको ठूलो हिस्सा नागरिकले आफैं व्यहोर्नुपरेको अवस्थालाई सुधार्न नगर स्वास्थ्य बीमा, सस्तो अस्पताल सेवा, ५० भन्दा बढी निःशुल्क स्वास्थ्य शिविर र २४ घण्टा एम्बुलेन्स सेवा सञ्चालन गरिने प्रस्ताव छ।
पूर्वाधार विकास-
वीरगञ्जका भित्री सडक वर्षायाममा हिलाम्मे र जलमग्न हुने समस्या समाधान गर्न ८० किमि सडक स्तरोन्नति, आधुनिक ढल तथा वर्षा पानी निकास प्रणाली सुधार, स्मार्ट सडक बत्ती र हरित सार्वजनिक पार्क निर्माण गरिने योजना प्रस्तुत गरिएको छ।
भ्रष्टाचार नियन्त्रण र डिजिटल शासन
महानगर सेवामा ढिलासुस्ती र अनौपचारिक खर्च अन्त्य गर्न सबै सेवा डिजिटल प्रणालीमा रूपान्तरण, ई–टेन्डर अनिवार्य, २४ घण्टा गुनासो दर्ता हेल्पलाइन तथा नियमित सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिने एजेन्डा उनले सार्वजनिक गरेका छन्।
व्यवसायमैत्री वातावरण-
भारतसँग जोडिएको मुख्य नाका र सुक्खा बन्दरगाह रहेको वीरगञ्जमा वन–स्टप बिजनेस सहायता केन्द्र, डिजिटल दर्ता प्रणाली र स्टार्टअप प्रोत्साहनमार्फत ५ वर्षभित्र ५,००० नयाँ व्यवसाय दर्ता गर्ने लक्ष्य राखिएको छ।
महिला, युवा र कृषि-
५,००० महिला तथा युवालाई सीप तालिम, सहुलियत ऋण र उद्योग इन्टर्नशिप उपलब्ध गराई १०,००० नयाँ रोजगारी सिर्जना गर्ने योजना रहेको छ। आसपासका ग्रामीण क्षेत्रमा आधुनिक सिँचाइ, कोल्ड स्टोर, किसान बजार र सहकारी सशक्तीकरणमार्फत २०% कृषि उत्पादन वृद्धि गर्ने लक्ष्य छ।
खेलकुद, संस्कृति र नागरिक सहभागिता-
१० नयाँ खेल मैदान, कभर्ड हल स्तरोन्नति, वार्षिक खेलकुद महोत्सव, सांस्कृतिक–धार्मिक महोत्सव सञ्चालन तथा टोल विकास समिति सशक्तीकरण र सहभागी बजेट प्रणालीमार्फत पारदर्शी र उत्तरदायी महानगर निर्माण गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
उम्मेदवार सरार्फका अनुसार यी एजेन्डाले वीरगञ्जलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा नयाँ उचाइमा पुर्याउने आधार तयार गर्नेछन्। आगामी निर्वाचनमा मतदाताले यी योजनालाई कत्तिको विश्वास गर्छन् भन्ने विषय नै परिणाम निर्धारणको मुख्य आधार बन्ने देखिएको छ।