वीरगञ्जमा उम्मेदवारसहित ५ जना नियन्त्रणमा, कारबाट शंकास्पद वस्तु बरामद
वीरगञ्ज । कार्यकर्ता भेटघाटका लागि निस्किएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंगलबार राति करिब ११ बजे पर्सागढी नगरपालिका–३, बढनिहार चोकमा सुरक्षा जाँचका क्रममा उनीहरू सवार बा १० च १२५० नम्बरको रातो कारबाट शंकास्पद वस्तु बरामद भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
के भएको थियो घटना?
प्रहरीका अनुसार मौन अवधिमा उम्मेदवार चौधरी आफ्ना कार्यकर्तालाई भेट्न जाँदै गर्दा नियमित चेकजाँचमा परेका थिए। जाँचका क्रममा कारको पछाडिको डिकीमा ‘शंकास्पद वस्तु’ फेला परेको थियो। उक्त वस्तु बम हुन सक्ने आशंकामा नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइएको छ।
हाल सवारी साधन सेनाको सुरक्षा घेरामा राखिएको छ भने उम्मेदवारसहितका व्यक्तिहरू प्रहरी हिरासतमा छन्।
अनुसन्धानमा को–को परे?
प्रहरीले उम्मेदवार चौधरीसँगै गाडीमा सवार अन्य चार जनालाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएकामध्ये सत्यनारायण चौधरी, रामेश्वर मण्डल, सुरज कार्की र वीरगञ्ज–छपकैया निवासी चालक मुन्ना अन्सारी रहेका छन्।
नेकपा नेता वृजलाल पासवानले घटनाबारे प्रतिक्रिया दिँदै डिकीमा के थियो भन्नेबारे आफूहरूलाई जानकारी नभएको बताएका छन्। उनले भने, “प्रहरीले सुरक्षाको दृष्टिकोणले नियन्त्रणमा लिएको भए त्यो स्वाभाविक हो, तर यदि निर्वाचन बिथोल्ने मनसायको आरोप लगाएर पक्राउ गरिएको हो भने त्यो गलत र निन्दनीय छ।”
प्रहरीले के भन्यो?
जिल्ला प्रहरी कार्यालय पर्सा ले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै थप अनुसन्धान अघि बढाइएको जनाएको छ। शंकास्पद वस्तुको प्रकृतिबारे सेनाको डिस्पोजल टोलीले जाँच गरेपछि मात्र विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीको भनाइ छ।
घटनापछि क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।