चलचित्र पत्रकार संघ पर्साद्वारा सांसद हरि पन्तलाई बधाई तथा सम्मान
६ चैत्र पर्सा — चलचित्र पत्रकार संघ नेपाल पर्सा ले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बुद्धि प्रसाद (हरि) पन्तलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।
शुक्रबार वीरगञ्ज मा आयोजित कार्यक्रममा संघका अध्यक्ष सूर्यनारायण वि.क. सहित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पन्तलाई सम्मान गर्दै सफल कार्यकालको कामना गरेका हुन्।
कार्यक्रममा अध्यक्ष वि.क.ले चलचित्रमार्फत पर्यटन प्रवद्र्धन गर्न सांसद पन्तले विशेष पहल गर्नुपर्नेमा जोड दिए। पर्सासहित समग्र मधेश प्रदेशलाई राज्यले अपेक्षित ध्यान नदिएको उल्लेख गर्दै चलचित्र पर्यटनका सम्भावना हुँदाहुँदै पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे।
संघका कार्यसमिति सदस्य जय यादव ले बिन्दबासिनी, भाठाधाम र पारसनाथजस्ता धार्मिक तथा ऐतिहासिक स्थलहरूको संरक्षण, प्रवद्र्धन र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए। साथै पर्सा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय कोरिडोरको रूपमा विकास गर्न सके स्थानीय अर्थतन्त्र र रोजगारीमा टेवा पुग्ने उनको विश्वास छ।

कार्यक्रममा सहभागीहरूले पर्साका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई चलचित्र छायांकनका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा ऐक्यबद्धता जनाएका थिए।
सांसद पन्तले नेपाली चलचित्रको बजार विस्तार, दर्शकलाई सही सूचना प्रवाह तथा स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्दै आएको संघको सक्रियताको प्रशंसा गरे। आफू होटल तथा पर्यटन व्यवसायीसँगै चलचित्र निर्माता समेत रहेको उल्लेख गर्दै उनले यस क्षेत्रको विकासका लागि नीतिगत तथा संरचनागत पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति समेत रहेका पन्त ‘राजनीति’ र ‘मेला’ नेपाली चलचित्रका निर्माता हुन्।
कार्यक्रममा उपाध्यक्ष आनन्द पटेल, सचिव रन्जित यादव तथा सदस्यहरू सन्तोष कुशवाहा, अखिल पटेललगायतको उपस्थिति रहेको थियो।