माउन्ट मकालु बोर्डिङ स्कुलमा कक्षा १० का विद्यार्थीहरूको भव्य विदाई
वीरगंज । माउन्ट मकालु बोर्डिङ स्कुलका कक्षा १० का विद्यार्थीहरूको भव्य विदाई समारोह सम्पन्न भएको छ। विद्यालयका सञ्चालक कामेश्वर श्रीवास्तवको अध्यक्षता तथा सनलाइट कलेजका प्रिन्सिपल एवं प्याप्सन वरिष्ठ सल्लाहकार आलोक चौरसियाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि चौरसियाले कक्षा १० पछि उच्च शिक्षाको यात्रा सुरु हुने बताउँदै विद्यार्थीहरूलाई स्पष्ट लक्ष्य निर्धारण गरी अघि बढ्न सुझाव दिए। उनले विद्यालयमा सिकेका सकारात्मक गतिविधिलाई आत्मसात् गर्दै नकारात्मक पक्षलाई त्याग्न आग्रह गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे। साथै, विद्यालयले प्रदान गरेको शिक्षा समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण हुने धारणा व्यक्त गरे।
त्यसैगरी प्याप्सन महानगर सचिव तथा सन साइन बोर्डिङ स्कुलका सञ्चालक अमित आलोकले माउन्ट मकालु बोर्डिङ स्कुलले शैक्षिक गुणस्तरका साथै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको बताए। उनले विद्यालयका प्रिन्सिपल राहुल श्रीवास्तवको नेतृत्वमा विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा उल्लेखनीय योगदान पुगेको उल्लेख गर्दै विद्यालय परिवारलाई धन्यवाद तथा शुभकामना दिए।
कार्यक्रममा प्याप्सन महानगर सदस्य विजय बल, सल्लाहकार सन्नी पाख्रिङ, इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, युवराज केशरी, निम्स इन्स्टिच्युटका अजय यादव, मानव सेवा आश्रमका देवेश मानव, माट्रिन मुक्तन तथा वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह लगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमको सहजीकरण इसा पटेल र विद्या शर्माले गरेका थिए। समारोहमा विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई अझ आकर्षक बनाएका थिए।
विद्यालयका प्रिन्सिपल राहुल श्रीवास्तवले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा जोड दिँदै विद्यार्थीहरूको समग्र विकासमा विद्यालय प्रतिबद्ध रहेको बताए। उनले आगामी दिनहरूमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्न विद्यालय सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरे।