आत्मनिर्भर अर्थतन्त्रका लागि महिला उद्यमीको भूमिका महत्वपूर्ण : यादव

51

ललितपुर, चैत २०,

सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महिला उद्यमशीलता व्यक्तिगत आर्थिक सशक्तिकरण मात्र नभई सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको संवाहक भएको बताउनुभएको छ।

महिला उद्यमी महासंघ नेपालद्वारा ललितपुरमा शुक्रबार आयोजित ‘नवौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०८२’ को उद्घाटन समारोहमा बोल्दै उहाँले महिला उद्यमीहरू आत्मनिर्भर, समावेशी र दीगो समाज निर्माणका प्रेरक शक्ति भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “महिलाले उद्यममार्फत आफ्नो क्षमता प्रदर्शन गर्दा परिवार, समाज र राष्ट्रको समग्र विकासमा योगदान पुग्छ।”

उपराष्ट्रपति यादवले ‘स्वदेशी उत्पादन उपयोग गरौं, स्वदेशी उद्यमशीलतालाई प्रोत्साहन गरौं’ भन्ने मूल नारासहित सुरु भएको तीन दिवसीय व्यापार मेलाले जिल्लास्तरका महिला उद्यमीलाई प्रोत्साहन गर्ने, उनीहरूको उत्पादनलाई बजारसम्म पुर्‍याउने र राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार महिला उद्यमीहरूको उत्पादनले आयात प्रतिस्थापन गर्नुका साथै निर्यात प्रवर्द्धनमा समेत टेवा पुर्‍याउनेछ।

उहाँले महिला उद्यमशीलता आर्थिक गतिविधिमा मात्र सीमित नभई सामाजिक रूपान्तरणको माध्यम समेत भएको बताउँदै यसले महिलालाई आत्मनिर्भर बनाउने, स्थानीय सीपलाई बजारसँग जोड्ने र अर्थतन्त्रलाई मजबुत बनाउने आधार तयार गर्ने धारणा राख्नुभयो।

उपराष्ट्रपति यादवले विगतमा घरधन्दा र पारिवारिक जिम्मेवारीमा सीमित महिलाहरू अहिले साना घरेलु उद्योगदेखि व्यावसायिक प्रतिष्ठानसम्म सक्रिय भई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्नुभयो। खुद्रा व्यापार, हस्तकला, कृषि, पशुपालन तथा सेवा क्षेत्रजस्ता क्षेत्रमा उनीहरूको बढ्दो सहभागिताले रोजगारी सिर्जनामा सकारात्मक प्रभाव पारेको उहाँले बताउनुभयो।

उहाँले स्थानीय स्रोत–साधनमा आधारित मौलिक उत्पादनले नेपालको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन सहयोग पुगेको उल्लेख गर्दै ढाका कपडा, हस्तनिर्मित गहना तथा घरेलु उद्योगका उत्पादनले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा योगदान दिएको बताउनुभयो।

उपराष्ट्रपति यादवले नेपालको संविधानले स्वदेशी उत्पादन, श्रम, सीप र स्रोतमा आधारित उद्योगलाई प्राथमिकता दिने व्यवस्था गरेको स्मरण गराउँदै महिला उद्यमशीलता प्रवर्द्धनका लागि राज्य, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले महिला उद्यमीहरूको क्षमता र योगदानलाई सम्मान गर्दै स्वदेशी उत्पादनको उपयोगमा जोड दिन सबैलाई आग्रह गर्नुभयो।

Leave A Reply

Your email address will not be published.