अटराहा सुगौलीमा रास्वपाको जनलहर, सुशील कुमार कानुको घरदैलोमा युवादेखि ज्येष्ठसम्म उत्साह
वीरगञ्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–२६ को अटराहा सुगौली टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानु ले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा स्थानीय युवा, ज्येष्ठ नागरिक, महिला तथा सर्वसाधारणले उम्मेदवार कानुलाई अबिर र गम्छासहित भव्य स्वागत गरे। कार्यक्रममा उनले मतदातासँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आफ्नो विकास योजना र राजनीतिक प्रतिबद्धता प्रस्तुत गरे।
कानुले रास्वपाको करारपत्रअनुसार पाँच वर्षसम्म जनताको सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनताको जीवनस्तर सुधार र भुइँतहका नागरिकको आवाज संसद्मा प्रभावकारी रूपमा उठाउने लक्ष्य रहेको बताए। विगतका निर्वाचित प्रतिनिधिहरूको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै उनले रोजगारी, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा अपेक्षित प्रगति नभएको टिप्पणी गरे।
“यो क्षेत्र आज पनि दुई दशकअघिकै अवस्थामा छ,” उनले भने, “निर्वाचित भएपछी यो अवस्थालाई परिवर्तन गर्नेछु।”
शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै मुस्लिम महिला तथा युवाहरूका लागि रोजगारीमुखी तथा सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि उनले जनाए। साथै, मतदातालाई घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे।
कार्यक्रममा स्थानीय युवाहरू र ज्येष्ठ नागरिकको उल्लेखनीय सहभागिता देखियो। सहभागीहरूले ‘परिवर्तनका लागि घण्टीमा मत हालौँ’ भन्ने नारा समेत लगाएका थिए, जसले अटराहा सुगौलीमा परिवर्तनको संकेत प्रष्ट देखाएको छ ।