अनिल रुँगटाको सम्पर्क कार्यालय सञ्चालनमा, मतदाता भेटघाटलाई तीव्रता
वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार अनिल रुँगटाले तेजराथ टोलामा आफ्नो निर्वाचन सम्पर्क कार्यालय औपचारिक रूपमा सञ्चालनमा ल्याएका छन्।
कार्यालय उद्घाटन समारोहमा कांग्रेसका पुराना तथा नयाँ नेताहरू एकै मञ्चमा देखिएपछि पार्टीभित्र उत्साह र एकताको सन्देश गएको बताइएको छ।
कार्यक्रममा सहभागी नेताहरूले संगठन मजबुत बनाउँदै मतदातासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय द्विवेदी, सचिव इम्तियाज आलम, पूर्व नगर सभापति विजय सर्राफ, अरबिन्द गुप्ता, भोला कलवारलगायत क्षेत्रीय, नगर तथा जिल्ला तहका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।