अन्तरविद्यालय खेलकुद प्रतियोगितामा क्रिकेट र फुटबलका प्रतिस्पर्धात्मक खेल सम्पन्न
११ माघ, वीरगञ्ज
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साको आयोजनामा जारी अन्तरविद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिता अन्तर्गत आज विभिन्न प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्। आजको दिन क्रिकेटतर्फ ३ तथा फुटबलतर्फ ४ खेल सम्पन्न भएका छन्, जसमा विद्यालयस्तरीय खेलाडीहरूले उत्साहजनक प्रदर्शन प्रस्तुत गरेका छन्।
क्रिकेटतर्फ
पहिलो खेलमा मुनलाईट स्कुलले मिनील्याण्ड स्कुललाई ८४ रनले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्यो। टस जितेर ब्याटिङ गरेको मुनलाईटले निर्धारित १५ ओभरमा ६ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। जवाफमा मिनील्याण्ड पुरै ओभर खेल्दै ६१ रनमै समेटियो। ४५ रनको महत्वपूर्ण योगदान दिएका दिलराज यादव म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेलमा फुर्कान एकेडेमी विजयी भयो। नेपाल काभेरीले टस जितेर ब्याटिङ गरे पनि ६ विकेटको क्षतिमा ९५ रन मात्र बनाउन सक्यो। उक्त लक्ष्य फुर्कान एकेडेमीले २ विकेटको क्षतिमा १२.२ ओभरमै पूरा गर्दै ८ विकेटको जित हात पार्यो।
तेस्रो खेलमा सेन्ट जेभियर्सले आचार्य एकेडेमीलाई पराजित गर्यो। टस जितेर ब्याटिङ गरेको सेन्ट जेभियर्सले ८ विकेटको क्षतिमा १५२ रन बनाएको थियो भने आचार्य एकेडेमी पुरै ओभर खेल्दै ८४ रनमै सीमित रह्यो।
फुटबलतर्फ
फुटबलतर्फ सम्पन्न पहिलो खेलमा गुरुकुल एकेडेमीले गोल्डेन फ्युचर माविविरुद्ध जित हात पार्यो। गोल्डेन फ्युचरका खेलाडीबाट भएको आत्मघाती गोल निर्णायक बन्यो। गुरुकुलका युहान राई म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेलमा ज्ञानदा एकेडेमीले नेपाल काभेरीलाई ३–२ गोल अन्तरले पराजित गर्यो। खेलको म्यान अफ द म्याच ज्ञानदाका अनुरञ्जन साह घोषित भए।
तेस्रो खेलमा बिकन माध्यमिक विद्यालयले वीरगञ्ज पब्लिक इङ्लिस बोर्डिङ स्कुललाई ८–० गोल अन्तरले पराजित गर्दै फराकिलो जित हात पार्यो। बिकनका अंश थारु म्यान अफ द म्याच बने।
चौथो तथा अन्तिम खेलमा साउथ जोन माध्यमिक विद्यालयले डी.ए.भी. विद्यालयलाई ५–० ले पराजित गर्दै विजयी भयो। साउथ जोनका आयुष चौधरी म्यान अफ द म्याच घोषित भए।
आयोजकका अनुसार प्रतियोगिताले विद्यालयस्तरीय खेलकुदको विकास, अनुशासन र खेलभावनाको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ। आगामी खेलहरू अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।