अभिभावक संघ पर्साद्वारा एसईई मा ४ जीपीए ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान
अभिभावक संघ पर्सा वीरगञ्जको आयोजनामा एसईई परीक्षा २०८१ मा ४ जीपीए प्राप्त गरेका ८ जना उत्कृष्ट विद्यार्थीहरू र ती उपलब्धिमा सहयोग पुर्याउने विद्यालयहरूलाई सम्मानित गर्ने विशेष कार्यक्रम बीपीसी कलेजको नयाँ भवनमा भव्यतापूर्वक सम्पन्न गरिएको छ।
कार्यक्रमको सभापतित्व अभिभावक संघ वीरगञ्ज पर्साका अध्यक्ष श्री सन्दीप साहले गर्नुभएको थियो भने मुख्य अतिथिमा मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य , रहनुभएको थियो भने विशिष्ठ अथितिमा पर्सा प्रहरी प्रमुख गौतम मिश्र, जिल्ला शिक्षा विकास समन्वय इकाई प्रमुख श्री हरि राउत, इन्टोभेटिभ सोसाइटीका अध्यक्ष श्री कमल चौगाई, नवित कुमार मिश्र, सुश्री सरिता गुप्ता, श्रीप्रति सिन्धु साह, पत्रकार, अभिभावक, शिक्षक, विद्यार्थी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
डा. शाक्यले वीरगञ्जमै सुविधा सम्पन्न शिक्षण संस्थाहरू रहेको उल्लेख गर्दै विदेश जानुभन्दा स्वदेशमै अवसर खोज्न विद्यार्थीहरूलाई सुझाव दिनुभयो।
कार्यक्रमको संचालन संचारकर्मी श्री राजेन्द्र सिंहले गर्नु भएको थियो भने शुभकामना मन्तव्य मनीष सिंहले राख्नुभएको थियो।
उद्घाटन कार्यक्रम पानसमा दीप प्रज्वलन गरी गरियो। उपस्थित अतिथिहरूले आ–आफ्ना मन्तव्यमार्फत विद्यार्थीहरूको सफलताको प्रशंसा गर्दै शिक्षा क्षेत्रमा अझ प्रगतिशील भूमिका खेल्न विद्यालयहरूलाई आग्रह गरे।
अभिभावक संघ पर्साले विद्यार्थी, विद्यालय र अभिभावकबीच सुमधुर सम्बन्ध स्थापित गर्न तथा समय–समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्य गर्दै आएको बताइएको छ।
कार्यक्रमले आगामी दिनमा विद्यार्थीहरूलाई अझ उत्कृष्ट परिणाम ल्याउन प्रेरणा दिने विश्वास आयोजक संस्थाले व्यक्त गरेको छ।