अविरल वर्षा र हावाहुरीले रौतहटका इँटा उद्योगमा ठूलो क्षति, करिब ४ करोड नोक्सानी
वीरगञ्ज — चैत ६ र ७ गते परेको अविरल वर्षा र हावाहुरीका कारण रौतहट जिल्लाका इँटा उद्योगहरूमा व्यापक क्षति पुगेको छ। खुला स्थानमा सुकाउन राखिएका काँचो इँटा भिजेर नष्ट हुँदा जिल्लाभर करिब ४ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ।
रौतहट इँटा उद्योग व्यवसायी संघका अध्यक्ष तथा एसपिएल इँटा उद्योगका सञ्चालक रामविनोद साहका अनुसार जिल्लामा सञ्चालनमा रहेका करिब ५० वटा इँटा उद्योग यस विपद्बाट प्रभावित भएका छन्। उनका अनुसार विभिन्न उद्योगहरूमा गरी १० लाखभन्दा बढी काँचो इँटा पूर्ण रूपमा नष्ट भएका छन्।
वृन्दावन नगरपालिका–२ स्थित राधाकृष्ण इँटा उद्योगमा मात्रै ५५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको सञ्चालक प्रेमशंकर यादवले जानकारी दिएका छन्। त्यसैगरी बिके, वीर, पूजा, एमबिआई, सोना र रामजानकीलगायत अन्य उद्योगहरू पनि नराम्ररी प्रभावित भएका छन्।
एउटा काँचो इँटा तयार गर्न माटो, पानी र मजदुरीसहित औसत ७ रुपैयाँभन्दा बढी लागत लाग्ने गर्दछ। तर सुकाउने प्रक्रियामै रहेका इँटा वर्षाले नष्ट गरेपछि व्यवसायीहरूको करोडौँ लगानी माटोमा मिलेको छ।
अध्यक्ष साहले गुनासो गर्दै सरकार, स्थानीय प्रशासन तथा वित्तीय निकायको उदासीनताप्रति असन्तुष्टि जनाएका छन्। “हाम्रो लगानी डुब्न लाग्दा पनि कसैले चासो दिएको छैन,” उनले भने, “हामीले बिमा प्रणाली लागू गर्न पटक–पटक आग्रह गरे पनि अहिलेसम्म सुनुवाइ भएको छैन।”
प्राकृतिक प्रकोपबाट हुने यस्ता क्षति न्यूनीकरणका लागि काँचो इँटाको समेत बिमा व्यवस्था गर्नुपर्ने व्यवसायीहरूको माग छ। बिमा सुविधा नहुँदा हरेक वर्ष ठूलो जोखिम मोल्नुपरेको उनीहरूको भनाइ छ।
हाल प्रभावित उद्योगीहरूले सरकार, उद्योग मन्त्रालय, विपद् व्यवस्थापन निकाय तथा बिमा कम्पनीहरूसँग तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन सुरक्षा उपाय अपनाउन आग्रह गरेका छन्।