अस्ट्रेलियामा १६ वर्ष मुनिकालाई सामाजिक सञ्जालमा रोक

33

१६ वर्ष मुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नियम अस्ट्रेलियाको संसदबाट पारित भएको छ । फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय सामाजिक सञ्जाल प्रयोगमा १६ वर्ष मुनिकालाई प्रतिबन्ध लगाउने विधेयक बुधबार संसद्को तल्लो सदनबाट र बिहीबार साँझ सिनेटबाट पनि पारित भएको हो ।

संसदबाट पारित भएकाले अब यसले कानूनको रुप लिने निश्चित भएको छ । नियामकहरूद्वारा विवरणहरू तयार हुन र प्रतिबन्ध लागू हुन कम्तीमा एक वर्ष लाग्ने अनुमान छ ।

अब सामाजिक सञ्जाल कम्पनीहरूले चाँडै युवा किशोरहरूलाई खाता खोल्नबाट रोक्न ‘उचित कदम’ चाल्ने अपेक्षा गरिएको छ ।

ऐनको पालना नगरे पाँच करोड अस्ट्रेलियन डलरसम्म जरिबाना तिर्नुपर्ने व्यवस्था छ । यो कानुनलाई संसारमा सबैभन्दा कडामध्ये एक मानिएको छ ।

तर सामाजिक सन्जाल कम्पनीहरूले भने यो ऐनलाई ‘अस्पष्ट’, ‘समस्याग्रस्त’ र ‘हतार’ भनेर टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल विशेषज्ञ सुसान ग्रान्थमले बच्चाहरूलाई उनीहरूले अनलाइन हेरेका कुराहरूबारे ‘आलोचनात्मक’ रूपमा सोच्न सिकाउने डिजिटल साक्षरता कार्यक्रमहरू फिनल्यान्डमा प्रयोग गरिएको मोडेल जस्तै अपनाउनु पर्ने बताएका छन् ।

स्पेनदेखि फ्लोरिडासम्मका कानूनवेत्ताहरूले युवा किशोरहरूका लागि सामाजिक सञ्जाल प्रतिबन्धहरू प्रस्ताव गरेका छन् तर अहिलेसम्म कुनै पनि उपायहरू लागू भएका छैनन् ।

चीनले सन् २०२१ देखि किशोरहरूको पहुँच सीमित गरेको छ । त्यहाँ १४ वर्षमुनिका बालबालिकालाई टिकटकको चिनियाँ संस्करण डाउइनमा दैनिक ४० मिनेटभन्दा बढी बिताउन अनुमति छैन ।

चीनमा बालबालिकाहरूको अनलाइन गेमिङ समयसमेत सीमित गरिएको छ ।

Leave A Reply

Your email address will not be published.