आज भाइटीका :दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै

57

काठमाडौँ, कार्तिक ६
यमपञ्चक समेत भनिने तिहारको मुख्य दिन आज देशभर भाइटीका उल्लासपूर्वक मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइरहेका छन्।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने यो पर्व यस वर्ष तिथि वृद्धि भई तिहारको छैटौँ दिनमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।

यस वर्ष दिदीबहिनी पूर्व र दाजुभाइ पश्चिम फर्किएर टीका गर्दा शुभ हुने मान्यता छ। यसो गर्दा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्ने भएकाले शुभ कर्मका लागि उत्तम हुने शास्त्रीय विश्वास छ।

धर्मशास्त्रविद् तथा समितिका सदस्य प्रा. देवमणि भट्टराईका अनुसार दिदीबहिनीले दाजुभाइलाई पूजा गर्दा अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने विश्वास रहेको छ। आज दिदीबहिनीहरूले दाजुभाइलाई तेलको धाराले छेकी परम्पराअनुसार टीका, मखमली, सयपत्री, गोदावरीजस्ता फूलका माला लगाइदिन्छन्।

शास्त्रीय परम्परा अनुसार तिहारमा रातो, सेतो, पहेंलो, हरियो र नीलो गरी पाँच रङका टीका प्रयोग गरिन्छ। टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला, सेलरोटी आदिबाट सत्कार गर्छन् भने दाजुभाइले पनि गच्छेअनुसार कपडा, दक्षिणा र उपहार दिई सम्मान प्रकट गर्छन्।

यस पर्वले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, स्नेह र आत्मीय सम्बन्धलाई अझ दृढ बनाउने मान्यता रहेको छ

Leave A Reply

Your email address will not be published.