इन्सपेक्टर जटा शंकर यादवको टोलीद्वारा सिरहामा ३७.९ ग्राम हिरोइन सहित दुई युवक पक्राउ
वीरगंज, असोज २२ ।
लागू औषध ब्राउन सुगर (खैरो हिरोइन) सहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा मिर्चैया नगरपालिका–७ का निराजन यादव र सभरी राजविराज नगरपालिका–१ का रोहन कुमार सिंह रहेका छन्।
बा.प्र.०३–००२ प २०८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले सडकको छेउमा साइड गराई सोधपुछ गर्ने क्रममा पक्राउ गरेको हो। सो क्रममा मोटरसाइकलका पछाडिबाट सवार रहेका निराजन यादवले मोटरसाइकलबाट हाम फालेर भाग्ने प्रयास गर्दै साथमा बोकेको कालो पोका नजिकैको झाडीमा फालेका थिए।
प्रहरीले त्यस पोका संकलन गरी जाँच गर्दा ३७.९ ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी दिँदै टोली प्रमुख प्रहरी निरीक्षक जटा शंकर यादवले पक्राउ परेकाहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन अन्तर्गत आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको बताए।