एनपीएल विजेता जनकपुर बोल्ट्स मधेसका सबै जिल्लामा विजयोत्सव मनाउने

14

वीरगञ्ज । नेपाल प्रिमियर लिग ९एनपीएल० को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले पर्साको वीरगञ्जसहित मधेस प्रदेशका जिल्लाहरूमा विजयोत्सव मनाउने तयारी गरेको छ ।

गत शनिवार सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै उपाधि जितेको जनकपुर बोल्ट्सले वीरगञ्जलगायत मधेसका आठ वटै जिल्लामा र्‍याली निकाल्ने योजना बनाएको छ ।

जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक नीरज खतिवडाका अनुसार विजय उत्सव वीरगञ्जमा भव्य रूपमा मनाइनेछ । वीरगञ्जमा हुने र्‍याली कार्यक्रम पर्सा जिल्लाका क्रिकेट प्रेमीहरूका लागि विशेष हुनेछ । “वीरगञ्ज मधेस प्रदेशको प्रमुख व्यावसायिक केन्द्र भएकाले यहाँका समर्थकहरूको लागि विशेष कार्यक्रम तय गरेका छौँ,” खतिवडाले बताए ।

खतिवडाका अनुसार जनकपुरबाट सुरु हुने यो उत्सव महोत्तरी, सर्लाही, रौतहट, बारा हुँदै पर्साको वीरगञ्जमा पुग्नेछ । वीरगञ्जमा र्‍यालीको आयोजना गरी स्थानीय समर्थकहरूसँग विजयोत्सव साझा गरिनेछ । त्यसपछि सिराहा र सप्तरी पुगेर यो यात्रा समापनका लागि पुनः जनकपुर फर्किने योजना रहेको छ ।

वीरगञ्जमा आयोजना हुने कार्यक्रममा स्थानीय क्रिकेट सङ्घ, समर्थक, र खेलाडीहरूको विशेष सहभागिता सुनिश्चित गरिनेछ । “वीरगञ्ज हाम्रो महत्त्वपूर्ण गन्तव्य हो । यहाँका क्रिकेट प्रेमीहरूले हामीलाई ठूलो समर्थन गरेका छन्, त्यसैले यहाँको उत्सवलाई अझ विशेष बनाउने छौँ,” खतिवडाले भने ।

जनकपुर बोल्ट्सका विदेशी खेलाडीहरू स्वदेश फर्किसकेका छन्, तर स्वदेशी खेलाडीहरूले सबै कार्यक्रममा सक्रिय रूपमा भाग लिनेछन् । मधेस प्रदेशका प्रत्येक जिल्लामा हुने र्‍यालीको व्यवस्थापनका लागि मधेस प्रदेश क्रिकेट सङ्घसँग समन्वय भइरहेको पनि खतिवडाले जानकारी दिए ।

वीरगञ्जमा हुने यो विजय उत्सवले एनपीएलमा जनकपुर बोल्ट्सको ऐतिहासिक जितलाई अझ व्यापक रूपमा मनाउने र मधेसमा क्रिकेटप्रतिको आकर्षण बढाउने विश्वास गरिएको छ ।

Leave A Reply

Your email address will not be published.