कर्फ्यु उल्लङ्घन गर्ने ३६ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लियो
पर्सा-वीरगञ्जमा जारी कर्फ्यु उल्लङ्घन गर्ने ३६ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।
हुल हुज्जत गरी कर्फ्यु उल्लङ्घन गर्न खोज्ने र अपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले बताउनुभएको छ ।
लम्सालका अनुसार झडपका क्रममा पाँचवटा मोटरसाइकलमा क्षति पुग्नका साथै दुई बिरयानी हाउसमा तोडफोड भएको छ । आज दिउँसो १२ बजेसम्म कर्फ्यु आदेश रहेको छ ।
कर्फ्यु आदेशपछि नेपाली सेनाले समेत सुरक्षा दिइरहेको छ । हिन्दू र मुस्लिम दुवै पक्षलाई बोलाएर वार्ताको गर्ने क्रम जारी रहेको छ । पछिल्लो अवस्था सामान्य अवस्थातर्फ फर्किएको छ । पर्साको वीरगंजमा हनुमान जयन्तीको विषयलाई लिएर भएको झडपपछि कर्फ्यु जारी भएको थियो ।