खैरो हिरोईन सहित विरगंजबाट ३ जना पक्राउ
माघ, १७ विरगंज
प्रहरीले वीरगंजबाट खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाको वडा नं।१६ का ६१ बर्षिय राजबली महतो, ४५ बर्षिय मनोहर महतो र बाराको परवानीपुर गाउँपालिका वडा नं। ५ का ३७ बर्षिय अबधेश प्रसाद पटेल रहेका छन् ।
बिशेष सूचनाको आधारमा प्रहरी चौकी बसपार्क तथा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले माघ १२ गते दउसो १२ बजे वीरगंज महानगरपालिकाको वडा नं।१६ स्थितबाट तीनै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार विक्रम थापाले वताए ।
उनका अनुसार चेकिङ टोलीले गस्ति गर्दै जाने क्रममा वीरगंज महानगरपालिकाको वडा नं।१६ स्थित सडकखण्डमा तिनै जना व्यक्तिहरू संकाष्पद रूपमा बाटोको छेउमा उभी एकआपसमा कुराकानी गर्दै थिए ।
संकाष्पद देखिएका निजहरूलाई खानतलासी गर्दा राजबली महतोले लगाएको ज्याकेटको दाहिने खल्तीबाट १ वटा सेतो रंगको प्लाष्टिकमा बेरी लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ ५० ग्राम, मनोहर महतोले लगाएको ज्याकेटको दाहिने खल्तीबाट १ वटा सेतो रंगको प्लाष्टिकमा बेरी लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ ५० ग्राम र अबधेश प्रसाद पटेलको साथबाट १०० ग्राम खैरो हिरोइन जस्तो देखिने सेतो पदार्थ फेला परेको हो ।
लागु औषध सहित पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिए ।