गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि पर्सा जिल्लाका सुनचाँदी व्यवसायीहरू आक्रोशित

33

वीरगञ्ज । सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर ९भ्याट० लागू गरेपछि पर्सा जिल्लाका सुनचाँदी व्यवसायीहरू आक्रोशित भएका छन्। उनीहरूले नयाँ कर संरचनाले उपभोक्ता र व्यवसाय दुवैलाई गहिरो असर पार्ने भन्दै कडा आपत्ति जनाएका छन्।

पर्सा सुनचाँदी व्यवसायी संघ र पर्सा सुनचाँदी कालीगढ संघले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा, पहिले लागू गरिएको १० लाख रुपैयाँभन्दा माथिका गहनामा लाग्ने विलासिता करलाई हटाएर सबै मूल्यका गहनामा २ प्रतिशत भ्याट लगाइनु तथा हिरा र बहुमूल्य पत्थर जडित गहनामा १३ प्रतिशत भ्याट लागू गरिनु उपभोक्तामाथि अन्यायपूर्ण आर्थिक भार भएको आरोप लगाइएको छ।

व्यवसायीहरूका अनुसार सुनचाँदीका गरगहना नेपालको परम्परा, संस्कृति, रीतिरिवाज तथा सामाजिक जीवनसँग गहिरो रूपमा गाँसिएको वस्तु भएकाले त्यसमा यस्तो करको भार सामान्य जनताको बचत र लगानीमै असर पार्नेछ।

संघले भारतजस्तो छिमेकी देशको तुलनामा नेपालमा मूल्य अत्यधिक भएको भन्दै, यसले चोरी पैठारी, तस्करी र अवैध कारोबार बढाउने खतरा औंल्याएको छ। उनीहरूले भनेका छन्, “अहिले नै सुनको मूल्य आकाशिएको छ, बजार मन्दीमा छ, यस्तो अवस्थामा थप करले बजारमा झन् गिरावट ल्याउने निश्चित छ।”

विज्ञप्तिमा भनिएको छ, “करको यस्तो बोझले लाखौं व्यवसायी, कालीगढ र मजदुरको जीविकोपार्जन संकटमा पार्नेछ। सरकारको नीति दीर्घकालीन रूपमा सुनचाँदी उद्योगलाई कमजोर बनाउने खालको छ, त्यसैले यो निर्णय तत्काल पुनरावलोकन गरिनुपर्छ।”

सरकारको नयाँ कर नीतिपछि सुनचाँदी उद्योगमाथि पर्न सक्ने दीर्घकालीन प्रभावबारे बहस चर्कंदै गएको छ। व्यवसायीहरूले सरकारसँग तत्काल संवाद र समन्वयमार्फत विकल्प खोज्न आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.