गरिबी, सामाजिक असमानता र नीतिगत भ्रष्टाचारविरुद्ध चुनावी मैदानमा अजय कुमार चौरसिया

40

वीरगञ्ज । समाजमा व्याप्त गरिबी, अभाव र सामाजिक पछौटेपनविरुद्ध समृद्ध नेपाल निर्माणको स्पष्ट खाका सहित आफू निर्वाचनमा होमिएको नेपाली कम्युनिष्ट पार्टी पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार अजय कुमार चौरसियाले बताउनुभएको छ।

पेशाले चार्टर्ड एकाउन्टेन्ट रहेका चौरसियाले समाजमा बढ्दै गएको विकृति र अन्याय सहन नसकेर आफू निर्वाचनको मैदानमा उत्रिएको स्पष्ट पार्नुभयो। विशेषगरी बैंकिङ क्षेत्रबाट ठगिएका तथा आर्थिक रूपमा पीडित बनेकाहरूको आत्मबलको सारथी बनेर निरन्तर आवाज उठाउँदै आएका चौरसियाले आगामी निर्वाचनमा ‘तारा’ चुनाव चिन्हबाट प्रतिस्पर्धा गरिरहेको जानकारी दिनुभयो।

आफू सबै प्रकारका नीतिगत भ्रष्टाचार र सामाजिक असमानताविरुद्धको प्रतिनिधि भएको उल्लेख गर्दै उहाँले आउँदो फागुन २१ गते हुने आम निर्वाचनमा पर्सा क्षेत्र नम्बर–१ का मतदाताले विजयी गराउने विश्वास व्यक्त गर्नुभयो। हाल मतदाताबीच निरन्तर छलफल, परामर्श तथा संवाद गर्दै आफ्नो पक्षमा जनमत निर्माणमा सक्रिय रहेको उहाँको भनाइ छ।

चौरसियाले निर्वाचन आउँछन्–जान्छन् तर मतदाताले एकपटक विवेक प्रयोग गर्न चुके समाज र जनताले दीर्घकालसम्म प्रगतिको स्वाद चाख्न नपाउने अवस्था सिर्जना हुने चेतावनीसमेत दिनुभयो।

लेखापरीक्षणजस्तो पारदर्शी पेशाबाट आएको अनुभवका कारण राज्यको ढुकुटीको सदुपयोग, आर्थिक अनुशासन र पारदर्शितालाई उहाँले आफ्ना प्रमुख चुनावी एजेन्डाको केन्द्रमा राख्नुभएको छ। वीरगञ्ज महानगरपालिका–१६ का स्थायी बासिन्दा ३३ वर्षीय चौरसिया नेपाल र भारत दुवै देशबाट चार्टर्ड एकाउन्टेन्सीको उपाधि हासिल गर्नुभएको छ।

दस वर्षभन्दा बढी समय बैंकिङ तथा वित्तीय क्षेत्रमा बिताएका उहाँले कर्पोरेट सुशासनदेखि कर प्रणालीसम्मलाई नजिकबाट बुझेको बताउनुहुन्छ। सर्वसाधारणमाथि विभिन्न वित्तीय संस्थाले चर्को ब्याज असुल्ने, न्यून मूल्यमा धितो लिलामी गर्ने तथा ऋणीलाई मानसिक रूपमा पीडित बनाउने नीतिका उहाँ कडा आलोचक रहँदै आउनुभएको छ।

आसन्न निर्वाचनलाई सबै प्रकारका आर्थिक अपराध र अन्यायविरुद्ध जनताले मतमार्फत निर्णय गर्ने अवसरको रूपमा चित्रण गर्दै उम्मेदवार चौरसियाले विवेकपूर्ण मतदान गर्दै आफूलाई निर्वाचित गर्न मतदातासँग आग्रह गर्नुभएको छ

Leave A Reply

Your email address will not be published.