गर्मीबाट बिरामीलाई राहतको अपेक्षा, नारायणी अस्पताललाई गाउँपालिकाबाट एसी सहयोग

66

गर्मीको चपेटाले सताइरहेका बिरामीलाई सहज वातावरण उपलब्ध गराउन पर्साका विभिन्न गाउँपालिकाले वीरगञ्जस्थित नारायणी अस्पताललाई वातानुकूलित एसी सहयोग गरेका छन्। मंगलबार जगरनाथपुर गाउँपालिका र जीराभवानी गाउँपालिकाले संयुक्त रूपमा अस्पताललाई ६ थान एसी हस्तान्तरण गरेका हुन्।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव र जीराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले तीन–तीन थान एलजी कम्पनीका एसी अस्पताल पुगेर मेसु डा। चुमनलाल दासलाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ता पनि उपस्थित थिए। यसअघि सोमबार अस्पताल निरीक्षणका क्रममा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँगै अध्यक्ष यादवले मेडिकल वार्डमा एसी जडान गर्ने प्रतिबद्धता सार्वजनिक रूपमा गरेका थिए। भोलिपल्टै सो प्रतिबद्धता पूरा गर्दै यादव र चौधरीले एसी उपलब्ध गराएको अध्यक्ष गुप्ताले जानकारी दिए।

नारायणी अस्पतालको ४० शैयाको मेडिकल वार्डमा हालसम्म केवल पंखा मात्रै राखिएको थियो। गर्मी मौसममा भर्ना भएका बिरामी तथा उनीहरूका आफन्तहरू असहज महसुस गर्दै आएको गुनासो थियो। स्वास्थ्यकर्मीहरू पनि गर्मीका कारण उपचारमा कठिनाइ हुने अवस्थाको सामना गर्दै आएका थिए। अध्यक्ष यादवले भनाइमा जोड्दै भने, “अस्पतालमा बिरामीको सहजता सबैभन्दा ठूलो प्राथमिकता हो। गर्मीले सताइरहेका बिरामीलाई एसी जडानपछि सहज वातावरण मिल्नेछ भन्ने अपेक्षा गरेका छौं।”

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष यादवको पहलमा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले पनि तीन थान एसी उपलब्ध गराउने घोषणा गरेका छन्। ती एसी १–२ दिनमै अस्पतालमा आइपुग्ने जनाइएको छ। अस्पताल प्रशासनले प्राप्त ६ थान एसी मेडिकल वार्डमा तत्काल जडान गर्ने तयारी गरेको छ। एसी जडान भएपछि बिरामीलाई आराम हुने मात्र होइन, चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि उपचार प्रक्रियामा सहजता हुने विश्वास गरिएको छ।

अस्पतालका मेसु डा। चुमनलाल दासले गाउँपालिकाको सहयोगप्रति आभार प्रकट गर्दै भने, “नारायणी अस्पताल क्षेत्रीयस्तरको प्रमुख स्वास्थ्य संस्था हो। यहाँको सेवा गुणस्तर बढाउन यस्तो सहयोग अत्यन्तै महत्वपूर्ण हुन्छ।” स्थानीय तहको प्रत्यक्ष पहल र सहयोगले नारायणी अस्पताललाई आधारभूत पूर्वाधार सुधारमा टेवा पुगेको छ। स्वास्थ्यकर्मीहरूले यस्तो सहकार्यलाई ‘सकारात्मक उदाहरण’का रूपमा लिएका छन्। भविष्यमा अन्य पालिका, संघ–संस्था र व्यक्तिहरूबाट पनि यसरी स्वास्थ्य सेवाको सुधारमा हातेमालो हुने हो भने बिरामीले अझ गुणस्तरीय उपचार पाउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.