गहवामाई मन्दिरमा आज २१ सय दीप प्रज्वलित गरिँदै
वीरगञ्ज । वीरगञ्जको ऐतिहासिक गहवामाई मन्दिर प्राङ्गणमा आज २१ सय वटा दियो बालेर दीप प्रज्वलन कार्यक्रम गरिँदै छ ।
श्रीराम जन्मभूमि भारतको अयोध्यास्थित भगवान् श्रीरामको राम मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठा वार्षिकोत्सवको अवसरमा वीरगञ्जस्थित गहवामाई मन्दिरमा आज साँझ साढे ५ बजेदेखि २१ सय वटा दीप प्रज्वलन गर्न लागिएको हो ।
गहवामाई मन्दिर सञ्चालन समितिका अध्यक्ष नरेन्द्र साहले सम्पूर्ण भक्तजनलाई श्रद्धा, सुद्ध मन र आस्थासहित समयमा नै मन्दिर पुगेर सहभागी हुन आग्रह गरेका छन् । कार्यक्रममा प्रयोग गरिने सम्पूर्ण दियोको व्यवस्थापन मन्दिर सञ्चालन समितिले गरेको अध्यक्ष साहले जानकारी दिए ।
साहले गहवामाईको आशीर्वादले जीवनमा सुख, समृद्धि र प्रगति प्राप्त हुने जनविश्वास रहेको भन्दै वीरगञ्जवासीहरूलाई उत्साहका साथ सहभागी हुन अपिल गरेका छन् ।
दीप प्रज्वलन कार्यक्रमलाई धार्मिक आस्था, सद्भाव र सामूहिक एकताका रूपमा मनाउन सबै भक्तजनलाई सहभागी हुन आग्रह गरिएको छ । आजको विशेष अवसरमा गहवामाईको दर्शन र दीप प्रज्वलनमार्फत वीरगञ्जवासीको धार्मिक र सांस्कृतिक परम्परालाई अझ प्रगाढ बनाउने विश्वास लिइएको छ ।
कार्यक्रममा सहभागी भई आफ्ना दीप प्रज्वलन गरी अद्वितीय धार्मिक महोत्सवलाई सफल बनाउन सबैलाई निमन्त्रणा गरिएको छ ।