घडीअर्वा पोखरीमा छठ पूजाका लागि विशेष सुरक्षा व्यवस्था
वीरगञ्ज । पर्सा जिल्लाका सुरक्षा प्रमुखहरूले वीरगञ्जको घडीअर्वा पोखरी छठ घाटमा भक्तजनहरूको सुरक्षा सुनिश्चित गर्न ठोस योजना सहित प्रतिबद्धता जनाएका छन् ।
छठ पूजाको लागि देशभर चर्चित यो घाटमा हरेक वर्ष डेढ लाख भन्दा बढी भक्तजनहरूको भीड लाग्ने गरेको छ । यस वर्ष, सम्भावित भीड र जोखिम व्यवस्थापन गर्न सुरक्षा निकायहरूले विशेष उपायहरू अवलम्बन गरिँदै छ ।
हालै आयोजित बैठकमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले छठ पूजाका लागि सुरक्षा व्यवस्थापनका विभिन्न पक्षहरूमाथि चर्चा गरे । उनले जिल्ला सुरक्षा समितिको बैठकमार्फत सुरक्षाका आवश्यक रणनीतिहरू निर्धारण गरिएको र त्यसै अनुसार सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए । भीड व्यवस्थापनका लागि विशेष प्रशिक्षण प्राप्त सुरक्षा टोली तैनाथ गरिने बताए ।
पर्साका प्रहरी उपरीक्षक ९एसपी० कुमोध ढुङ्गेलले आयोजक समितिका स्वयंसेवकहरूसँग मिलेर प्रहरी खटाउने बताए, जसमा नेपाल प्रहरीका विभिन्न शाखाका सुरक्षाकर्मी परिचालन गरिनेछ ।
घडीअर्वा पोखरीको विशाल जलाशयमा सम्भावित दुर्घटनाबाट बच्न सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले मोटर बोटसहितको टोली परिचालन गरिने उल्लेख गरे । साथै, महिला सुरक्षाकर्मी पनि तैनाथ गरिनेछ ।
सुरक्षा उपसमितिका संयोजक मनोहर साहले २० वटा सिसिटिभी क्यामेरा जडान गरी घाटको निगरानी गरिने बताए । स्वयंसेवकका रूपमा ४० जना स्थानीय युवा परिचालन गरिने छ । यसबाहेक, सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै एम्बुलेन्स, वारुण यन्त्र, र प्राथमिक उपचार शिविर पनि घाटको आसपास राखिने छ ।
बैठकमा श्रीजंग गणका कर्णेल नीराजन कटुवाल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत ललितनारायण चौधरी, वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयका प्रमुखहरूको सहभागिता थियो ।
यस वर्ष छठ पूजामा सुरक्षा प्रबन्धलाई अझ प्रभावकारी बनाउँदै भक्तजनहरूलाई सुरक्षित र व्यवस्थित वातावरण उपलब्ध गराउने उद्देश्यसहित सुरक्षाको प्रबन्ध मिलाइएको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले घडीअर्वा पोखरीमा छठ पूजाका लागि यो व्यापक सुरक्षा प्रबन्ध भक्तजनहरूको सुरक्षाका लागि हर सम्भव तयारी गरिएको जनाएका छन् ।