घरदैलोमा उर्लियो जनसागर, पकहामैनपुर–२ मा एमाले थप मजबुत
वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पकहामैनपुर गाउँपालिका–२ मा नेकपा एमालेले आयोजना गरेको घरदैलो कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रममा देखिएको जनसहभागिता, स्थानीयको स्वतःस्फूर्त समर्थन र उर्लिएको जनसागरले क्षेत्रको राजनीतिक माहोल थप तातिएको छ।
घरदैलो अभियानका क्रममा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रूपेश कुमार पाण्डे लाई स्थानीयवासीहरूले खुलेर साथ, समर्थन र आशीर्वाद व्यक्त गरेका छन्। “भाषण होइन, काम चाहियो” भन्ने नारासहित अघि बढिरहेका पाण्डेको विकासमुखी सोच, युवामैत्री दृष्टिकोण र व्यवहारिक योजनाको स्थानीयस्तरमै उच्च मूल्यांकन भएको देखिएको छ।
स्थानीय नागरिकसँगको प्रत्यक्ष संवादमा उम्मेदवार पाण्डेले समग्र क्षेत्र विकास, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार, पूर्वाधार विस्तार र सुशासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएका थिए। उनका यी योजनाले विगतको निराशाजनक राजनीतिबाट दिक्क भएका मतदातामा नयाँ आशा जगाएको स्थानीयवासीहरूको प्रतिक्रिया छ।
घरदैलो कार्यक्रममा सहभागी सर्वसाधारणले “अब परिवर्तन चाहियो”, “पुरानै अनुहार होइन, नयाँ सोच र काम गर्ने प्रतिनिधि चाहियो” भन्दै पाण्डेप्रति विश्वास व्यक्त गरेका छन्। यसले पर्सा–३ मा परिवर्तनको पक्षमा जनमत क्रमशः बलियो बन्दै गएको संकेत दिएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पकहामैनपुर–२ मा देखिएको जनउत्साहले नेकपा एमाले र उम्मेदवार रूपेश कुमार पाण्डेको स्थिति थप मजबुत बन्दै गएको देखिन्छ। बढ्दो जनसमर्थन र स्थानीय तहबाट प्राप्त विश्वासका आधारमा यस निर्वाचनपछि पर्सा–३ को राजनीतिक मुहार फेरिने सम्भावना प्रबल बन्दै गएको छ।
घरदैलो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय कमिटी सदस्य निर्मला देवकोटा, पूर्व प्रदेशसभा सदस्य मंजुर, अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघका राष्ट्रिय अध्यक्ष तेजप्रकाश नेपाली निषाद, सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवंत यादव, एमाले नेता बिजय चौरसिया, अकलेश कुमार साह, उत्तम तिवारी, कौशल साह, राकेश महतो, सन्तोष महतो, उपेन्द्र सहनी लगायत स्थानीय नेता–कार्यकर्ता, बुद्धिजीवी, महिला तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।