चित्रगुप्त युवा समितिको आयोजनामा सुपर सिक्स क्रिकेट प्रतियोगिता सुरू

118

बीरगञ्ज, पर्सा ।

चित्रगुप्त युवा समिति बीरगञ्जको आयोजनामा शुक्रबार ज्ञानदा एकेडेमी विद्यालयको प्राङ्गणमा ‘प्रथम कायस्थ सुपर सिक्स नकआउट क्रिकेट प्रतियोगिता’ भव्य रूपमा उद्घाटन गरिएको छ।

उद्घाटन समारोह समितिका अध्यक्ष राजन श्रीवास्तव र महेश दासको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रमका प्रमुख अतिथि बीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण रहेका थिए।

कार्यक्रम उद्घाटन गर्दै कर्णले युवा पुस्तालाई आफ्नै भाषा, संस्कार र संस्कृतिको संरक्षणमा अग्रसर हुन आग्रह गरे। उनले भने,

“हाम्रो संस्कार, संस्कृति र धर्म नै हाम्रो पहिचान र सम्पत्ति हुन्। यसको संरक्षण गर्न युवा पुस्ताको भूमिका अत्यन्त जरुरी छ। हामी जहाँ रहे पनि आफ्नो भाषा र संस्कृतिलाई बिर्सनु हुँदैन।”

कर्णले युवाहरूमाझ मातृभाषाको प्रयोग बढाउनुपर्ने आवश्यकता औंल्याउँदै भने,

“हामी अंग्रेजी, हिन्दी, नेपाली बोल्छौं तर आफ्नै भाषा प्रयोग गर्दैनौं। परिवार वा साथीभाइबीच संवाद गर्दा मातृभाषाको प्रयोगले हाम्रो संस्कृतिलाई जोगाउन मद्दत गर्छ।”

त्यसैगरी प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले युवा पुस्ता संस्कार र संस्कृतिको जगेर्नामा अगाडि बढ्नुपर्ने बताउँदै भने,

“हाम्रो भाषा हाम्रो पहिचान हो। यसलाई जोगाउनु हाम्रो कर्तव्य हो। कायस्थ समुदायका युवाले यसको संरक्षणका लागि अग्रसर हुनुपर्छ।”

प्रतियोगितामा विभिन्न १० वटा कायस्थ समूहबीच प्रतिस्पर्धा हुने र विजेता तथा उपविजेतालाई शिल्ड र मेडल प्रदान गरिने जानकारी अध्यक्ष श्रीवास्तवले दिएका छन्।

कार्यक्रममा चित्रगुप्त युवा समितिका पदाधिकारी, कायस्थ समुदायका खेलाडी र सदस्यहरूको उल्लेख्य उपस्थिति थियो। उद्घाटन समारोहमा जनभण्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राई, डा. अशोक दास, कार्यक्रम संयोजक प्रकाश कर्ण, मिहिट कर्ण लगायत अतिथिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण कृष्ण कुशवाहाले गरेका थिए।

Leave A Reply

Your email address will not be published.