छठको पर्व नजिक, उत्साहले भरियो मधेश

31

वीरगन्ज। तराई–मधेश क्षेत्रमा दिपावली सकिएसँगै सूर्यदेवको उपासना गरिने महापर्व छठको तयारी तीव्र रुपमा अघि बढेको छ। यस वर्ष छठ पर्व कार्तिक १० र ११ गते पर्ने भएकाले सम्पूर्ण मधेशी समुदाय छठमय बनेको छ।

भोजपुरी र मैथिली भाषी हिन्दूहरूले पर्वका लागि आवश्यक सामग्रीको किनमेल सुरु गरिसकेका छन्। बजारमा पूजाका सामग्री, नयाँ भाँडावर्तन, कपडा, फलफूल र प्रसादका वस्तु किन्नेहरूको भीड बढेको छ। नयाँ वस्त्र धारण गर्ने चलन भएकाले कपडा पसल र डिपार्टमेन्ट स्टोरहरूमा पनि ग्राहकको घुइँचो देखिएको छ।

छठको मुख्य केन्द्रबिन्दु नदी, ताल, पोखरी किनारका छठीघाटहरू सरसफाइ र सजावटमा जुटेका छन्। वीरगन्जका प्रमुख जलाशयहरू—घडीअर्वा पोखरी, रानीघाटको सिर्सिया नदी, छपकैया पोखरी, मुर्ली पोखरी, पिपरा, रामगढवा र अलौ—मा भव्य तयारी भइरहेको छ।

छठीघाटलाई आकर्षक पण्डाल, टेन्ट र रंगीन बत्तीले सजाउने काम तीव्र गतिमा भइरहेको छ। घडीअर्वा पोखरी पार्कमा मात्र यस वर्ष करिब २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। समितिका अध्यक्ष राकेश साहका अनुसार, सजावटमा भव्यता थप्न भारतबाट दक्ष कारीगरहरू समेत ल्याइएका छन्।

तराई–मधेशका सहर तथा गाउँहरू अहिले छठको धार्मिक रौनक, गीतसंगीत र उमङ्गले उज्यालो बनेका छन्।

Leave A Reply

Your email address will not be published.