छाता चिन्ह लिएर चुनावी मैदानमा सन्जु साह, रामपुर मुसहरीमा जनलहर

77

बारा – बारा निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत परवानीपुर गाउँपालिका वडा नं. २ रामपुर मुसहरीबाट जनता समाजवादी पार्टी (जसपा) नेपालको घरदैलो कार्यक्रम औपचारिक रूपमा शुभारम्भ भएको छ। प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सन्जु साहले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै चुनावी अभियानलाई तीव्र बनाएका छन्।

घरदैलो कार्यक्रमको सुरुवातसँगै रामपुर मुसहरीमा चुनावी माहोल तातेको देखिएको छ। स्थानीय मतदातासँग विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणका एजेन्डा प्रस्तुत गर्दै साहले यसपटक परिवर्तनको पक्षमा मत दिन अपिल गरे।

कार्यक्रमका क्रममा समर्थकहरूले “छाता छाप जिन्दावाद” भन्दै नाराबाजी गरेका थिए। जसपा नेपालको चुनाव चिन्ह ‘छाता’ लाई प्रतीकात्मक रूपमा लिएर साहले सामाजिक न्याय, समान अधिकार र समावेशी विकास आफ्नो प्राथमिकता रहेको बताएका छन्।

साहले भने, “बारा–४ को समग्र विकास, युवालाई रोजगारी र किसानलाई सहज सुविधा उपलब्ध गराउनु मेरो मुख्य प्रतिबद्धता हो। घरदैलोमार्फत जनताको घर–घर पुगेर उनीहरूको समस्या सुन्ने र समाधान गर्ने अभियान जारी रहनेछ।”

स्थानीयवासीहरूले पनि यसपटक विकासमुखी र जनउत्तरदायी नेतृत्व रोज्ने संकेत दिएका छन्। रामपुर मुसहरीबाट सुरु भएको यो अभियान आगामी दिनमा बारा–४ का अन्य वडाहरूमा समेत विस्तार गरिने जसपा नेपालले जनाएको छ।

बारा–४ मा देखिएको उत्साहजनक सहभागिताले चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ। सन्जु साहको सक्रियताले क्षेत्रीय राजनीतिमा नयाँ ऊर्जा थपिएको विश्लेषण गरिएको छ।

Leave A Reply

Your email address will not be published.