जनकपुरधाम, साउन १८ , आनन्द पटेल
गुठी संस्थान र नेपाल पत्रकार महासंघ, मधेश प्रदेशबीच ऐतिहासिक लिज सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार गुठी संस्थानको पूर्ण स्वामित्वमा रहेको श्री राम मन्दिर गुठी अन्तर्गतको ०–४–०–० बिगाहा (चार कठ्ठा) जग्गा पत्रकार महासंघलाई लिजमा प्रदान गरिनेछ। उक्त जग्गामा महासंघले व्यावसायिक प्रयोजनका लागि आधुनिक संरचना निर्माण गर्ने लक्ष्य लिएको छ।
गुठी संस्थान सञ्चालक समितिको निर्णयपछि सार्वजनिक सूचना मार्फत प्रस्ताव आह्वान गरिएको थियो। प्राप्त प्रस्तावहरूमध्ये पत्रकार महासंघको प्रस्ताव प्राविधिक र आर्थिक दृष्टिकोणले उत्कृष्ट ठहरिएको संस्थानले जनाएको छ।
सम्झौताअनुसार महासंघले निर्माण लागत आफैं बेहोर्नेछ भने सबै नक्सा, प्राविधिक प्रतिवेदन, लागत अनुमान र कार्यतालिका गुठी संस्थानमा पेश गर्नु पर्नेछ। निर्माण कार्य नेपालका प्रचलित मापदण्ड र कानुन अनुसार गरिनुपर्ने स्पष्ट गरिएको छ।
गुठी संस्थानका प्रतिनिधिहरूले यस सहकार्यबाट निष्क्रिय सम्पत्तिको उत्पादक प्रयोग हुँदै स्थानीय रोजगारी र सेवा प्रवाहमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले जनकपुरधामलाई सूचना, सञ्चार र सामाजिक सेवाको केन्द्रबिन्दु बनाउने योजनाअनुरूप आधुनिक भवन निर्माण गरी सार्वजनिक सेवा प्रवाहमा सक्रिय रहने प्रतिबद्धता जनाएको छ।
सम्झौता अन्तर्गत जग्गाको स्वामित्व गुठी संस्थानमै रहनेछ भने महासंघले पुनः बहालमा दिने अधिकार मात्र पाउनेछ, हक हस्तान्तरण गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ।
सम्झौता सम्बन्धी सम्पूर्ण कर, दस्तुर, स्वीकृति र कानुनी प्रक्रिया महासंघले नै व्यहोर्नेछ। सो अवसरमा पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछाने, प्रदेशका अध्यक्ष श्याम बञ्जारा सहित संपूर्ण पदाधिकारीहरु,केन्द्रका गुठीका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
यस सम्झौताले मधेश प्रदेशभरिका पत्रकारहरूमा उत्साह र सन्तुष्टि फैलिएको छ। दीर्घकालीन पूर्वाधार निर्माण र पत्रकारिता सशक्तीकरणमा यो सम्झौता एक महत्वपूर्ण कदमको रूपमा लिइएको छ ।