जनतासँग प्रत्यक्ष संवादमा अशोक टेमानी, पर्सा–२ मा समर्थन बढ्दो
वीरगंज (पर्सा), २२ माघ ।
पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोक टेमानीले आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट उम्मेदवारी दिएका टेमानीको घरदैलो अभियान बिहीबार वीरगंज महानगरपालिकामा भव्य रूपमा सम्पन्न भएको हो।
चुनावी प्रचारप्रसारको महत्वपूर्ण चरणमा प्रवेश गरेको अभियानअन्तर्गत टेमानीले वीरगंज महानगरपालिका वडा नं. १० का विभिन्न टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका छन्। घरदैलो क्रममा उनले स्थानीय नागरिकका समस्या, आवश्यकता र अपेक्षालाई नजिकबाट सुन्ने प्रयास गरेका थिए।
स्थानीयले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक तथा अन्य आधारभूत सेवा–सुविधासम्बन्धी गुनासा तथा सुझाव राखेका थिए। ती विषयलाई गम्भीरतापूर्वक सुन्दै टेमानीले आफू निर्वाचित भएमा जनताका समस्या प्राथमिकताका साथ संसदमा उठाउने प्रतिबद्धता जनाए। उनले आफू नेता होइन, जनताको सेवक भएर काम गर्ने धारणा व्यक्त गर्दै जवाफदेही र जनमुखी राजनीति आजको आवश्यकता भएको बताए।
वडा नं. १० का मतदातासँगको भेटघाटमा टेमानीले मधेश र पर्साको समग्र विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गरे। वीरगंजलाई आर्थिक तथा औद्योगिक केन्द्रका रूपमा विकास गर्न संघीय सरकारमा बलियो प्रतिनिधित्व आवश्यक रहेको उनको भनाइ थियो। ‘जनताको पीडा बुझ्ने, जनतासँगै हिँड्ने र जनताकै आवाज संसदमा पुर्याउने प्रतिनिधि आजको आवश्यकता हो,’ उनले भने।
घरदैलो अभियानकै क्रममा स्थानीय मतदाताबाट टेमानीप्रति उत्साहजनक समर्थन देखिएको छ। मतदाताले उनको सरल स्वभाव, पहुँचयोग्य व्यवहार तथा स्थानीय स्तरमै सक्रिय भूमिकाको प्रशंसा गरेका छन्। लामो समयदेखि निरन्तर क्षेत्रमै रहेर सामाजिक तथा जनसम्पर्कमा सक्रिय टेमानीप्रति विश्वास बढ्दै गएको स्थानीयको प्रतिक्रिया छ।
जसपा नेपालले पर्सा–२ लाई यसपटक महत्वपूर्ण निर्वाचन क्षेत्रका रूपमा लिएको छ। त्यसअनुसार उम्मेदवार टेमानीले घरदैलो, टोलसभा तथा प्रत्यक्ष संवाद कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लगेका छन्। आगामी दिनमा अभियानलाई थप व्यापक बनाउने तयारी रहेको जनाइएको छ।
नेता भन्दा पनि जनताको सेवाका लागि राजनीतिमा होमिएका टेमानी मधेश प्रदेशकै सफल उद्योगी व्यवसायीका रूपमा परिचित छन्। विगत दशकौँदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका उनले नीतिगत तहमा पुगेर यस क्षेत्रका समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यसहित प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका हुन्। उनी निर्वाचित भए विकाससँगै शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा उल्लेखनीय सुधार हुने मतदाताको विश्वास रहेको छ।