जनमत पार्टीको सामाजिक सेवा : छठ पर्वमा ब्रतालु महिलालाई साडी र पूजा सामग्री सहयोग

108

८ कार्तिक, वीरगञ्ज ।

आनन्द पटेल — जनमत पार्टी वीरगञ्ज महानगरपालिका–८ वडा इकाई समितिको आयोजनामा तथा पार्टी जिल्ला सदस्य कंचन गुप्ताको सौजन्यमा छठ पर्वको पावन अवसरमा वडा स्तरीय शुभकामना आदान–प्रदान तथा सामग्री वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ।

कार्यक्रम अन्तर्गत ३१ जना ब्रतालु महिलाहरूलाई साडी, नारिवल र पूजाका सामग्रीहरू उपहारस्वरूप वितरण गरिएको जनमत पार्टीले जानकारी दिएको छ।

कार्यक्रममा बोल्दै जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले छठ पर्व केवल धार्मिक आस्थाको पर्व नभई सामाजिक एकता, वैज्ञानिक सोच, सहिष्णुता र सांस्कृतिक पहिचानको प्रतीक भएको उल्लेख गरे।

उनका अनुसार, यस पर्वले समाजमा पारस्परिक सद्भाव, सहयोग र आस्थाको वातावरण सुदृढ गर्नेसँगै मौलिकता तथा प्रकृतिको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँछ।

कार्यक्रममा केन्द्रीय सदस्य बिध्यलाल प्रसाद, श्याम गुप्ता, वडा इकाई अध्यक्ष रामजी रौनियार, युवा दस्ता जिल्ला अध्यक्ष मनोज साह, नेताहरू निरञ्जन कुशवाहा र रोहित पटेललगायतको उपस्थितिका साथै सक्रिय सहभागिता रहेको थियो।

जिल्ला सदस्य कंचन गुप्ताले ब्रतालु महिलाहरुलाई सहयोग गर्न पाउनु गर्वको विषय भएको बताउँदै जनमत पार्टी सधैं समाज, संस्कार र सेवामूलक कार्यमा अग्रणी रहने उल्लेख गरिन्।

उनले महिला सशक्तीकरण र सांस्कृतिक संरक्षणमा निरन्तर योगदान दिने प्रतिबद्धता पनि व्यक्त गरिन्।

कार्यक्रममा स्थानीय अगुवा, महिला समूहका प्रतिनिधि, पार्टीका कार्यकर्ता तथा श्रद्धालुहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले छठ पर्वको सफल समापनको शुभकामना आदान–प्रदान गर्दै धार्मिक एकता र सौहार्दको सन्देश प्रवाह गरेका थिए।

Leave A Reply

Your email address will not be published.